Aamsanchar

दोस्रोपटक कोरोना संक्रमणपछि प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दारको मृत्यु

Author Image
बुधवार, जेठ १९, २०७८

विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको कोरोना भाइरस संक्रमणका कारण बुधबार बिहान निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बिहान ९ बजेतिर प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको निधन भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार जेठ १६ गते कोरोना पुष्टि भएका भण्डारीलाई सुरुमा आइसीयूमा राखेर उपचार थालिएको थियो । कोरोना पुष्टि भएको भोलिपल्ट जेठ १७ गते सोमबार अस्पताल भर्ना गरिएका हवल्दार भण्डारीलाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि भेन्टिलेटरमा राख्नुपरेको दाहालले बताए ।

उनको उपचारकै क्रममा भेन्टिलेटरमा निधन भएको हो । दाहालका अनुसार मृतकमा मधुमेहको पुरानै समस्या थियो । गम्भीर अवस्थाका भण्डारीलाई उपचार गरेर बचाउन धेरै प्रयास गरिए पनि सफल हुन नसकेको उनको भनाइ छ ।

विराटनगर महानगरपालिका–३ घर भएका भण्डारीलाई नेपाल प्रहरीको सीआरभी पोस्ट कटहरीमा खटाइएको थियो । कटहरी क्षेत्रमै कोरोना नियन्त्रणका लागि सक्रिय रहेका बेला पीसीआर परीक्षण गराउँदा पहिलो पटक जेठ ३ गते उनलाई कोरोनाको संक्रमण पुष्टि भयो ।

त्यसपछि उपचारका लागि कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारपछि निको भएर कोरोनामुक्त हुँदै हवल्दार भण्डारी अस्पतालबाट जेठ १३ गते डिस्चार्ज पाएर घर फर्किएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घरमै आराम गरिरहेका बेला फेरि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो ।

पुनः पीसीआर परीक्षण गराउँदा जेठ १६ गते आइतबार दोस्रो पटक उनको रिपोर्ट पोजिटिभ आएको जानकारी राईले दिए । ‘पहिलो पटक कोरोना रिपोर्ट पोजिटिभ आएसँगै कोसी कोभिडमा उपचार गराएर संक्रमणमुक्त भएपछि अवस्था सामान्य बनेको थियो,’ राईले भने, ‘तर पुनः परीक्षण गराउँदा दोस्रो पटक संक्रमण देखिएपछि उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।’ पहिलो पटक सहज रुपमा संक्रमण जित्न सफल भएका भण्डारी दोस्रो पटक देखिएको संक्रमणसँग भने हारेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कोरोनाका कारण नेपाल प्रहरीतर्फ मोरङमा पहिलो मानवीय क्षति भएको छ । उनका अनुसार नियमित काम कारबाहीसँगै कोरोना भाइरसको संक्रमण नियन्त्रण र निषेधाज्ञाको पालनाका लागि अग्रमोर्चामा खटिनुपर्ने जिम्मेवारी सुरक्षाकर्मीमा छ । संक्रमण पुष्टि भएका अरु प्रहरी उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किन सफल भइरहेको अवस्थामा हवल्दार भण्डारी भने कोरोनासँग पराजित हुन पुगेको एसपी खड्काले बताए ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता मोरङमा दुई प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ४१ प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । उपचाररत अरु संक्रमित प्रहरीको अवस्था सामान्य रहेको एसपी खड्काले बताए । मोरङमा एक हजार चार सयभन्दा बढी प्रहरी कार्यरत छन् ।

एसपी खड्काले कोरोनालाई सामान्य नठान्न सबैमा आग्रह गरेका छन् । कोरोनालाई सामान्य रुपमा लिएर जानाजान लापरबाही एवं गल्ती नगर्न सबैमा उनको अनुरोध छ । ‘संक्रमण नै पुष्टि भइसकेपछि उपचार सम्भव हुन्छभन्ने कुनै ग्यारेन्टी छैन । ज्यान नै रहन्छ कि रहँदैनभन्ने अत्यन्तै संकटपूर्ण अवस्था मानव जीवनमा आएकाले सबैले सचेत भएर उच्च सावधानी अपनाउँदा कोरोनाबाट बच्च सकिन्छ,’ उनले भने, ‘नियमको पालना गर्नु अहिलेको अवस्थामा अति नै उत्तम हुन्छ । नत्र संक्रमण थप फैलिएर अवस्था जटिल बन्नसक्छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोनाका कारण भइरहेको मानवीय क्षतिलाई हेरेर पनि त्यसबाट पाठ सिक्दै सबै सचेत हुन जरुरी रहेको बताए । ‘संक्रमणले अवस्था भयावह बनाएको छ । दैनिक संक्रमण बढ्ने र मृत्यु हुने क्रम जारी छ,’ निरौलाले भने, ‘नियमको पालना अरुका लागि नभइकन आफ्नै लागि हो भन्ने बुझिदिन सबैमा आग्रह गर्छु । अहिलेको विषम परिस्थितिमा महामारीको अन्त्य गर्दै संक्रमण र मृत्युबाट बच्न सकियो भने त्यो नै मानव जीवनका लागि सबैभन्दा ठूलो सफलता हुनेछ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर