Aamsanchar
Adv top
Adv below_nav

कोभिड १९ को असर कृषिमा पनि, बारीमै खरबुजा कुहिन थालेपछि कृषकको लगानी बालुवामा पानी


मेचीनगर।  कोभिड १९ को असर कृषिक्षेत्रमा पनि देखिएको छ । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले पटक पटक निषेधाज्ञ जारी गरेपछि यातायात र बजार ठप्प हुदाँ कृषकले आफ्ना उत्पादनलाई बजार सम्म पुर्याउन सकेका छैनन् । जस्का कारण कृषकहरुले लाखौं रुपैयाँको क्षति व्यहोर्नु परेको छ ।

लकडाउनका कारण समयमै बजार पुर्याउन नसक्दा आफ्ना उत्पादन बारीमै सड्ने र कुहिने गरेका कारण झापा मेचीनगर—७ सतिघट्टाका एक कृषकको लाखौं रुपैयाँको लगानी बालुवामा पानी सरह भएको छ । खरबुजाको अग्र्यानिक खेती गरिरहेका कृषक दीपक खत्रीले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम् खरिद गरिदिनु पर्ने विकल्प अघि सार्नुभएको छ ।

एकवर्षअघिदेखि दुई विगाह जग्गामा व्यवसायिक खरबुजाको खेती गदैं आउनुभएका खत्रीले गतवर्ष पनि कोभिड १८ का कारण नराम्ररी आर्थिक क्षति व्यहोर्नु परेको थियो । गतवर्षको क्षतिलाई पूर्ति गर्न यो साल पनि खरबुजा खेतीलाई निरन्तरता दिनुभयो । तर, हालत उहि पहिलेकै दोहोरियो । चारलाख रुपैयाँ खर्च गरेर दुई विगाह जग्गामा उहाँले खरबुजाको खेती शुरु गर्नुभएको थियो । तर, उत्पादन दिएर बजार पुर्याउने बखत कोभिड १९ का कारण जारी निषेधाज्ञले सवै उत्पादन बारीमै कुहिएर खेर गएका कारण पुर्पुरोमा हात लगाएर बस्नु बाहेक कुनै विकल्प नभएको खत्रीको दुःखेसो छ । केही हुन्छ कि भनेर व्यवसायिक खेती शुरु गरेको बताउँदै उहाँले दुईवर्षमा खरबुजा खेतीबाट भएको नोक्सान पूर्ति गर्न एक विगाह जग्गा बेच्नु परेको पीडा सुनाउनुभयो ।

अहिले आफ्ना खेतमा उत्पादन भएका खरबुजा लकडाउनका कारण समयमै बजार पुर्याउन नसक्दा खेतबारीमै कुहिर र सडेर गएका कारण चारलाख रुपैयाँ बढी क्षति व्यहोर्नु परेको उहाँको भनाई छ । फागुनमहिनामा रोपेको विरुवामा एकमहिनामै फल लाग्न शुरु हुने र फल लाग्न शुरु भएको दुईमहिना लगत्तै खानका लागि तयारी हुने खरबुजा अहिले खेतबारीमा लटरम्म फले पनि सवै कुहिएका छन् । लकडाउनका कारण यातायात नचल्दा वा बजार बन्द भएका कारण यो अवस्था आएको उहाँको भनाई छ ।

विशेष गरेर प्रदेश नम्बर १ को धरान, विराटनगर तथा गण्डकी प्रदेशको पोखरालगायत अन्य बजारलाई लक्षित गरेर यहाँका किसानले अग्र्यानिकरुपमा व्यवसायिक ढंगले खरबुजा खेती गरेको भएपनि अहिले लकडाउनका कारण समयमै ती उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसानले आर्थिकरुपमा ठूलो क्षति व्यहोर्नु उहाँको भनाई छ । गतवर्ष जसोतसो एक ट्रक खरबुजा काठमाण्डौ पुर्याउन सफल भएपनि यस पटक भने त्यो पनि गर्न नसकेको उहाँको भनाई छ ।

‘अहिले हरेक किसानका खेतवारीमा खरबुजा राम्रैसँग उत्पादन भएका छन्’ खत्रीले भन्नुभयोे—‘हाम्रो बजार १ नम्बर प्रदेशका थोरै र गण्डकी प्रदेशका अधिकाँश बजार हो । तर, अहिले लकडाउनका कारण ती बजारमा आफ्ना उत्पादन पुर्याउनै सकिएको छैन् ।’ बजारका कारण अधिकाँश किसानको ठूलो लगानी जोखिममा परेको उहाँको भनाई छ । बजारमा अग्र्यानिक वस्तुको माग प्रश्स्त छ, उत्पादन पनि मनग्यै छ तर लकडाउनका कारण बजार र यातायातका साधन नचल्दा समस्या भएको उहाँको भनाई छ । स्थानीय बजारले यहाँ उत्पादन भएका यस्ता वस्तुको खपत धान्न सक्ने अवस्था छैन् ।

‘लाखौ रुपैयाँ लगानी गरेर व्यवसायिक अग्र्यानिक खेती शुरु गरियो र विक्री गर्ने बेलामा सवै नष्ट हुने अवस्थामा छ ’ उहाँले भन्नुभयो —‘अब कि त सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्यो वा सरकारले स्वयम् खरीद गरिदिनु पर्यो नत्र हाम्रो यसमा गरेको लगानीको कारण घरवास उठिवास हुने अवस्था आउछ ।’ खरबुजाले राम्रै उत्पादन दिएको भएपनि समयमै बजारसम्म पुर्याउन नसक्दा लाखौ रुपैयाँ डुब्ने र चर्काे व्याजदरमा ऋण कडेर गरेको खेती डुब्दा घरबारी नै लिलामी हुने अवस्था शतप्रतिशत रहेको भन्दैं किसानका यी सामुहिक समस्यामा नेपालका तीनै तहका सरकार गम्भीर भएर समाधानतर्फ लाग्न स्थानीय समाजसेवी हरिकृष्ण केसी आग्रह गर्नुहुन्छ ।

स्थानीय बजारले मात्र यसको उत्पादन धान्न नसक्ने र बजारमा प्रश्स्त माग हुँदासम्म पुर्याउन नसकेकै कारण लगानी खेर जाने अवस्थामा पुगेको भन्दैं किसानहरुउत्पादन पनि राम्रोसँग दिए पनि उचितरुपमा बजारीकरण गर्न नसक्दा समस्यामा परेको बताउछन् । खुद्रा विक्री गरेर आफ्नो लगानी उठ्ने समभावना नरहेको उहाँको भनाई छ । उहाँले किसानले उत्पादन गरेका वस्तु छिटो भन्दा छिटो बजारसम्म पुर्याईदिने वातावरण मिलाईदिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

चर्काे व्याजका दरले ऋण लिएर शुरु गरेको खरबुजा बजारसम्म पुर्याउन सक्दा बारीमै नष्ट हुन थालेपछि साहुको ऋण कसरी तिर्ने भन्ने समस्या सिर्जना भएको पीडा उहाँ सुनाउनुहुन्छ । खरबुजाको बजारमा माग भएपनि बजारसम्म पुर्याउन नसक्दा किसानले आर्थिकरुपमा ठूलो नोक्शान व्यहोर्नु परेको उहाँको भनाई छ । नेपाललाई कृषि प्रधान देश भनिए पनि हरेक वर्ष हरियो सागसब्जीदेखि फलफूल र खाद्यन्न समेतमा परनिर्भर बन्नु परेको छ । नेपालम व्यावसायिकरुपमा कृषि कर्ममा लागेका यस्ता किसानहरुको समस्या बुझेर समयमै समाधानतर्फ लाग्ने हो भने कृषितर्फ उनीहरुको आर्कषण बढ्न सक्छ । यसकारण नेपाललाई साच्चै कृषि प्रधान देश भन्ने हो भन्न र व्यवहारमा समेत देखाउने हो भने तत्काल सरकार र सम्बन्धित निकाय आजै हरेक किसानका खेत—खेतमा पुग्न जरुरी छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।