Aamsanchar

झापामा सवारी नियम उल्लंघन गर्ने र दुर्घटनामा परी मृत्यु हुनेको संख्या भयावह

Author Image
बुधवार, साउन ६, २०७८

 

काँकरभिट्टा । गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही स्वरुप राजस्व संकलन गरेको हो । यो अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र मातहतका कार्यालयले जिल्लाका अलग अलग स्थानमा छड्के तथा नियमित चेकजाँच गर्ने क्रममा विभिन्न प्रकारका ५३ हजार  सवारी साधनलाई कारवाही गरेको थियो ।

कारवाहीमा सवैभन्दा बढी मोटरसाइकल परेका छन् । यो अवधिमा मोटरसाइकलबाट मात्रै कार्यालयले १ करोड ५० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने, २१ हजार १ सय ५७ वटा मोटरसाइकल प्रहरी कारवाहीमा परेका थिए । यो अवधिमा सवैभन्दा कम यात्रुवहाक बस छन् सवारी नियम उल्लंघन गर्ने । एकवर्षे अवधिमा २ हजार ७ सय ७५ वटा बस प्रहरीको कारवाहीमा परेका थिए । कारवाही स्वरुप १८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, सवारी नियम पालना नगर्ने दोस्रो स्थानमा ट्रक छन् । सो अवधिमा १० हजार ८ सय ९८ वटा ट्रकलाई प्रहरीले कारवाही गर्दा ७६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको हो छ । प्रहरीले ६ हजार ९ सय ६८ वटा टेम्पो, अटो, सिटी सफारीलाई कारवाही गर्दा ४६ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

४ हजार ४ सय ३२ वटा ट्याक्टरलाई कारवाही गर्दा कार्यालयले २९ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्काले बताउनुभयो । ६ हजार ८ सय ७० वटा जीप, कार भेनबाट कार्यालयले ४७ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । प्रहरीको अभिलेख हेर्दा गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा विभिन्न प्रकारका ५३ हजार एउटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको स्पष्ट हुन्छ । सवारी साधनका आवश्यक कागजात नबोक्ने, क्षमता भन्दा बढि बोक्ने, जताभावी पार्किङ्ग गर्ने, हेल्मेट नलगाउने, डिजिटल हरन बजाउने मादक पदार्थ सेवन गरी सवारी चलाउने कारवाहीमा परेका हुन । सवारी चालकले गर्ने गल्तीको प्रकृति अनुसार जरीवाना गरिने कार्यालयले जनाएको छ । जिल्लामा शहरीक्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा सवारी नियम उल्लंघनका घटना हुने गरेको प्रहरीको भनाई छ । अझ प्रहरीको अनुपस्थित हुने क्षेत्रमा पुरै लापरवाही हुने गरेको छ ।

झापामा ९३ जनाको मृत्यु

गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा झापा जिल्लाका अलग अलग स्थानमा भएका सवारी दुघर्टनामा परेर ९३ जनाको ज्यान गएको छ । सवैभन्दा बढी ७५ जना पुरुषको सवारी दुघर्टनामा परेर झापामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस अवधिमा भएका कुल ६ सय ५७ वटा सवारी दुघर्टनामा १ हजार एउटा सवारी साधन संलग्न थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्काका अनुसार दुघर्टनामा परेर १२ महिला तथा ६ जना बालबालिकाको समेत ज्यान गएको छ ।

झापामा भएका सवारी दुघर्टनामा परेर २ सय ५८ पुरुष, ४५ महिला तथा २१ जना बालबालिका गरेर कुल ३ सय २४ जना गम्भीर र ५ सय ४६ पुरुष,१ सय २८ महिला तथा ६७ बालबालिकागरी कुल ७ सय ४१ जना समान्य घाइते बनेको प्रहरीको अभिलेखमा छ । कार्यालयका अनुसार एकवर्षको अवधिमा जिल्लामा सवारी दुघर्टनामा पेर एउटा चौपाय मरेको छ भने एउटा घाइते भएको थियो ।

अधिकाँश दुघर्टना पूर्व—पश्चिम लोकमार्ग अन्तर्गत मेचीनगरको चारआली, कनकाईको सुरुङ्गा, शिवसताक्षीको झिलझिले, दमकको विभिन्नक्षेत्रमा भएको प्रहरीको अभिलेखले देखाएको छ । लोकमार्गबाहेक अन्य साइडमार्गमा समेत दुघर्टना भएका छन् । सवैभन्दा बढी पाडाजुङ्गी, गौरीगञ्ज र चारआली चन्द्रगढी सडकमा भएका छन् । पाडाजुङ्गी—गौरीगञ्ज सडकखण्डमा ११ र चारआली —चन्द्रगढी सडकखण्डमा १३ वटा सवारी दुघर्टना भएका छन् ।

एकवर्षमा दुईहजार भन्दा बढी लाईसेन्समा प्वाल

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले वितेको आर्थिकवर्षमा २ हजार बढि सवारी चलाउने चालकको चालक अनुमती पत्र (लाईसेन्स) मा प्वाल पारेको छ । आर्थिक वर्ष २०७१/०७२ देखि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको चालक अनुमती पत्र (लाईसेन्स) मा प्वाल पार्ने अभियान शुरु गरेको थियो ।

प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा देशभरका ट्राफिक प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्टले ब्रेथलाईजर मेशीनको माध्यमबाट चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्दै आएका छन् । मादक पदार्थ सेवन गरी सवारी चलाएर पटक पटक चेकजाँचमा परी चालक अनुमती पत्र (लाईसेन्स) मा ५ वटा सम्म प्वाल परे उक्त चालक अनुमती पत्र (लाईसेन्स) स्वतः रद्ध हुने प्रहरीले जनाएको छ ।

गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा झापा जिल्लाका अलग अलग स्थानमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने २ हजार ५ सय ६८ जना चालक कारवाहीमा परेका थिए । कारवाही स्वरुप उनीहरुको लाईसेन्समा प्वाल पादैं २५ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा तत्काल सवारी साधन, उसको चालक अनुमती पत्र नियन्त्रणमा लिएर कारवाही स्वरुप एकहजार रुपैयाँ जरिवाना प्रहरीले गर्दै आएको छ । कार्यालय श्रोतका अनुसार प्रहरीले चेकिङ गर्ने क्रममा मापसे गरी सवारी चलाए अवस्था हेरेर नियन्त्रणमा लिएर हिरासतमा राख्नु परे राख्ने, थोरै खाएर गन्तव्य सम्म पुग्न सक्ने भए सवारी साधनका आवशयक कागजात नियन्त्रणमा लिएर उपस्थित हुने शर्तमा छाड्ने , कार्यालयमा उपस्थित भएपछि जरिवाना स्वरुप एकहजार रुपैयाँ तथा चालक अनुमती पत्र (लाईसेन्स) मा एउटा प्वाल पार्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी सहायक निरीक्षक यमकुमार खड्काले बताउनुभयो

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कक्षा समेत दिने गरिएको छ । लाईसेन्समा प्वाल पारेको अभिलेख कार्यालयमा राखिने त्यसको जानकारी सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई समेत गराउने गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेका कारण जिल्लामा दुर्घटना बढ्ेपछि प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा देशभरका ट्राफिक प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्टले ब्रेथलाईजर मेशीनको माध्यमबाट चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्दै अभियान शुरु गरेको थियो ।

चालकमा परिपक्कता नहुनु, तीव्र गतिमा सवारी चलाउनु, क्षमताभन्दा बढी यात्रु बोक्नु अनि मादक पदार्थ सेवन गरी सवारी चलाउनु नै दुघर्टनाका कारण भएको प्रहरीको भनाई छ । ब्रेथलाईजरले मादक पदार्थ सेवन गरी सवारी चलाएको पत्ता लागेपछि शुरुमा जरिवाना स्वरुप एकहजार रुपैयाँमात्र लिने गरिएको भएपनि यो अभियान शुरु भएपछि जरिवाना सहित प्वाल नै पारेर लाईसेन्सनै रद्ध हुने भएपछि यसमा दुघर्टनामा कमि आउने अपेक्षा प्रहरीको थियो । विशेषगरि रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा अत्याधिकरुपमा दुघर्टना हुने भएकाले प्रहरीले यसलाई कम गर्न समेत यस्तो अभियान शुरु गरेको थियो । प्रहरीले अहिले मुख्य लोकमार्ग तथा ग्रामीण सडकमा समेत छड्के चेकजाँचलाई तीव्र पारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)