Aamsanchar

नगद र गरगहना सुरक्षित भेटिएपछि संखुवासभाको हत्या काण्ड रहस्यमय

Author Image
बुधवार, भदौ २३, २०७८

संखुवासभा : बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको  पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो। 

वृद्ध बौदमान मात्र सकुशल भेटिए। सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन। प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन। 

खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ। एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दासमेत अभियुक्त पक्राउ पर्न सकेका छैनन्। घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो। 

तालिम प्राप्त कुकुरसहितको प्रहरीको विशेषज्ञ टोलीले समेत घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। प्रहरीले हत्यारा पक्राउ पर्न नसक्ने हो कि भन्ने चिन्ता भएको स्थानीय बताउँछन्। हत्यारा पक्राउ नपर्दा स्थानीयमा त्रास सुरु भएको छ। कतै हत्यारा आफ्नो घरमा पनि आउने हुन कि भन्ने त्रासले साँझ पर्नासाथ ढोका थुनेर बस्न थालेको स्थानीय बताउँछन्। घटनापछि गाउँमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि स्थानीयको मनको त्रास हट्न सकेको छैन। बौदमानका एक छिमेकीले भने, ‘यत्रतत्र छरिएका शव देखिएको कुरा झलझली आँखामा आउँछ। साँझ पर्ना साथ डर लाग्छ।’ 

जिल्लाको प्रहरी टोलीले सोमबार दिनभर र संघीय एकाइ धरानबाट तालिम प्राप्त कुकुरसहित आएको विशेषज्ञ एसपी भीम दाहालको टोलीले मंगलबार बिहानबाट अनुसन्धान सुरु गरेको थियो। शव संकलन गरेर पोस्टमार्टमका लागि मंगलबार धरानस्थित बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। पोस्टमार्टमपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले बताए। घटनाको छानबिनका लागि सीआईबीको टोलीसमेत मंगलबार साँझ घटनास्थल आइपुगेको छ। सीआईबीको टोली आइसकेकाले चाँडै अभियुक्तसम्म पुग्ने डीएसपी सुवेदीको भनाइ छ। उनले अभियुक्त पक्राउ नपरेसम्म घटनास्थलमा नै बसेर अनुसन्धान गर्ने बताए। 

अनुसन्धानमा तालिम प्राप्त कुकुरको प्रयोग गरे पनि रातभर पानी परेकाले अनुसन्धान कठिन भएको प्रहरीको भनाइ छ। २४ घण्टापछि मात्र घटनास्थलको अनुसन्धान सुरु भएकाले सत्यतथ्य पत्ता लगाउन कठिन भएको प्रहरीको भनाइ छ।  अभियुक्त भाग्न नदिन जिल्लाका नाकाहरूमा उच्च सुरक्षा व्यवस्था गरिएको डीएसपी बस्नेतले बताए।  

‘मैले त बेहोस भएको होला भन्ने ठानें’
८५ वर्षीय बौदमान कार्कीले बिहान साढे ६ बजेतिर घरनजिकैको गाईगोठ छेउमा श्रीमती पार्वता घोप्टो परेको अवस्थामा भेटेँ। पार्वता यसअघि पनि बेहोस हुने गरेकाले छिमेकीको सहयोगमा खाटमा लगेर राखेको उनले बताए। ‘केही समयपछि आफैं उठ्छे होला भनेको थिएँ, तर खै ?’ बौदमानले भने। स्थानीय खड्गबहादुर कार्कीले पनि पार्वतालाई खाटमा राख्न सघाएको बताए। ‘ठूलीआमा (पार्वता) बिरामी हुनुहुँदोरहेछ भने पछि हामी गएर खाटमा ल्याएर राख्यौं,’ उनले भने, ‘छाम्दा उहाँ तातै हुनुहुन्थ्यो। पहिलेकै जस्तै लट्ठिनु भएको रहेछ भनेर हामीले भन्यौं।’ 

घरका अरू मान्छेहरू काममा गएका होलान् भन्ने सोचेर आफू घाँस काट्न गएको खड्गबहादुरले बताए। ‘त्यतिबेलासम्म यस्तो घटना भएको होला भनेर हामीले सोचेका पनि थिएनौं,’ उनले भने, ‘घाँस काटेर फर्केँ। आमै बिरामी हुनुहुन्छ भनेर अरू साथीसँगै साढे ८ बजेतिर उहाँको घरमा गयौं। कोही नदेखेपछि मात्र अरूको खोजी गर्‍यौं।’ 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर