Aamsanchar

कृषि प्रधान मुलुकमा पूर्वी नाकाबाट मात्र वार्षिक ६ करोड रुपियाँभन्दा बढीको कोदो आयात

Author Image
बिहिवार, भदौ २४, २०७८

मेचीनगर । कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुने गरेको छ । स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भएपनि प्रत्येक वर्ष आयात बढिरहेको छ ।

देशको उच्च र मध्यपहाडी क्षेत्रमा विशेषगरि कोदो उत्पादन हुने गरेको छ । यी क्षेत्रमा उत्पदान घट्दैं गएपछि आयात बढ्दै गएको हो । सामान्य कोदो खरीदका लागिमात्र पूर्वी नाका काँकरभिट्टाबाटै वर्षेनी करोडौं रुपैयाँ बाहिरीने गरेको छ ।

पूर्वी नाका काँकरभिट्टाहुँदै गत आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड २८ लाख ५६ हजार रुपैयाँको २ हजार ६ सय १९ मेट्रिक टन कोदो आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्र्रमुख देविन्द्र साहुले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा यो नाकाबाट ४ हजार ३ सय ९६ मेट्रिक टन वा १२ करोड ५० लाख ६६ हजार रुपैयाँ मुल्य बराबरको कोदो आयात भएको थियो । जुन रकम र परिमाण गत आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा ५० प्रतिशतले आयात बढेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा १७ करोड ४० लाख ९६ हजार रुपैयाँ मुल्य बराबरको ७ हजार २ सय ५४ मेट्रिक टन कोदो आयात गरिएको थियो । सरकारी अधिकारीहरुका अनुसार भारतबाट मात्र आयात हुने कोदो केहि वर्षदेखि थाइल्याण्डबाट पनि आयात हुने गरेको छ । कार्यालय प्र्रमुख देविन्द्र साहुका अनुसार पूर्वी नाका काँकरभिट्टा भएर भित्रिएको कोदो भारतबाट मात्र आयात गरिएको हो । विदेशबाट करोडौंको कोदो आयात भइरहँदा स्वदेशी उत्पादनको सानो हिस्सा पनि निर्यात भएको छैन् । नेपालको चौथो प्रमुख बाली मानिएको कोदोबाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिकरुपमा विस्थापित हुँदै गएका छ ।

सरकारले कोदोको निर्यात बढाउन ओखलढुङ्गा, खोटाङ्ग तथा भोजपुरलगायतका जिल्लामा कोदो मिसन कार्यक्रम सञ्चालन गरेको थियो । झापामा १ हजार ६ सय ७५ हेक्टरमा कोदो खेती हुने गरेको छ । तर, किसानको कोदो खेतीप्रतिको आर्कषण घटेका कारण आयात बढेको हो । दमकको माथिल्लो भेग, मेचीनगरको बाहुनडाँगी, अर्जुनधारको खुदुनावारी, शनिश्चरे, बुद्घशान्तिको बुधबारेलगायतका क्षेत्रमा कोदो खेती हुने गरेको छ ।

परम्परागत बालीनालीको प्रवद्र्घन गर्न राज्यले कुनै चासो नदिएको र कृषकको उत्पादन लागत समेत बढेकाले किसान कोदो खेतीबाट वैक्लिपिक खेतीतर्फ लागेको झापा मेचीनगर—६ का पदमबहादुर मगर बताउँनुहुन्छ । केही वर्षदेखि कोदोको व्यवसायीक खेतीमा लागत बढी र उत्पादन कम हुँदा पनि किसानको कोदो खेतीतर्फ आकर्षण घटेको उहाँको भनाई छ । कोदोको प्रवद्र्घनमा सरकारी उदासिनताका कारण कोदोखेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको उहाँको भनाई छ ।

सरकारले परम्परागत बालीको व्यवसायीकरणमा ध्यान नदिदाँ हरेक वर्ष स्वदेशी उत्पादन घट्दैं गएको छ । स्वदेशी उत्पादन घट्दै गएका कारण आयात बढेको सम्बन्धित अधिकारीहरु बताउँछन् । सरकारले कोदोको उत्पादन बढाउन कुनै किसिमका कार्यक्रम ल्याएको छैन् । यसको खेती गर्ने किसानलाई सहुलियत दरको ऋणको व्यवस्था पनि छैन् । सरकारले पहाडी बाली जोगाउने र त्यसलाई बढाउने योजना ल्याउनुपर्ने किसानको भनाई छ ।

कोदो बाली साना, सिमान्त कृषकको जीविकाको आधार भएकोले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने, वातारण सन्तुलन, पोषणयुक्त र आइरनयुक्त खाद्यन्न भएकोले भौगोलिक अवस्थाअनुसार विकास गरिनुपर्ने, जमिनको संरक्षण, उपयोग र युवा रोजगारका हिसावले कोदोवालीलाई हेरिनुपर्ने, खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधि प्रयोग गरी सहज उत्पादनमा जोड दिनुपर्ने किसानकोे सुझाव छ ।

अध्ययन अनुसन्धान गरी सम्मानित बालीका रुपमा प्रचार प्रसार गरिनुपर्ने, कोदोको प्रसोधन र उद्यमशिलतासँग कृषि शिक्षामा जोड दिनुपर्ने, राष्टिय नीति तथा कार्यक्रममार्फत विविधतायुक्त वीउ तथा प्रविधि उपलव्ध गराइनुपर्ने, उत्पादनको मूल्य श्रृखला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिईएको छ । कोदोमा प्रचुरमात्रामा फलाम पाइने हुनाले महिलाहरुमा देखिने रक्त अल्पताको समस्यालाई न्युनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ ।

यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ भन्ने भनाई पनि छ । कोदोमा प्रशस्त मात्रामा म्यागानिक, जिंक पोटोसियम पाइने विभिन्न अध्ययनले देखाएको छ । यसकारण पनि स्वास्थ्यका हिसावले पनि निक्कै लाभदायक मानिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर