Aamsanchar

फलफूलको मुल्यमा गिरावट

Author Image
शुक्रवार, भदौ २५, २०७८

मेचीनगर। दुईसाताको अवधिमा फलफूलको मूल्य घटेको छ । पछिल्लो समय फलफूलको आपूर्ति सहज भएकाले अधिकांश फलफूलको मूल्यमा गिरावट आएको हो । मेचीनगरका फलफूल व्यपारीका अनुसार भारतबाट फलफूल आयात हुन थालेपछि वितेको १५ दिनको अवधिमा नगरका फलफूल पसलमा यसको मूल्य घटेको छ । फलफूलको मूल्य घटेपछि सबैभन्दा बढी स्याउको मूल्य सस्तो भएको छ ।

गएको १५ दिनको तुलनामा स्याउ, मौसम, अनार, केरालगायतका फलफूलको मूल्य घटेको छ भने केहीको स्थिर देखिएको व्यवसायीहरुको भनाई छ । निषेधाज्ञाका कारण भारतबाट पर्याप्तरुपमा फलफूलको आयात नहुँदा मेचीनगरमा फलफूलको मुल्य निक्कै उच्च थियो । बजारमा फलफूलको आपूर्ति सहजै भइरहेको र उपभोक्ताले कम खरिद गरेकाले फलफूलको मूल्य घटेको व्यवसायीहरुको भनाई छ ।

१५ दिनअघि फुजी स्याउको मूल्य प्रतिकेजी ३ देखि ४ सय रुपैयाँमा किनबेच भएपनि अहिले २ सयदेखि २ सय ५० रुपैयाँ रहेको छ । रेडकुल स्याउको मुल्य घटेर प्रतिकेजी १ सय ३० रुपैयाँमा झरेको छ । १५ दिनअघि बजारमा रेडकुल प्रतिकेजी १ सय ५० देखि २ सय रुपैयाँसम्म पुगेको थियो । बजारमै स्याउको मूल्य घटेका कारण उपभोक्ताले समेत बजारमा सस्तोमा स्याउ पाएको व्यपारीको भनाई छ । मुस्ताङको स्याउ र आयातित स्याउ समेत बजारमा आएकाले मूल्य घटेको हो । प्रतिकेजी ३ सय ५० देखि ४ सय रुपैयाँसम्म विक्री हुदैं आएको अनारको मूल्य घटेर प्रतिकेजी ३ सयमा झरेको छ । १५ दिनअघि एकदर्जनको १ सयदेखि १ सय २५ रुपैयाँमा केरा खरिद गरेका ग्राहकले अहिले ६० देखि ८० रुपैयाँमा एकदर्जन केरा सहजै पाउने छन् ।

मेचीनगरको बजारमा फलफूलको मूल्य घटेसँगै उपभोक्तालाई राहत मिलेको स्थानीयको भनाई छ । काँकरभिट्टा बजारमा फलफूलको मूल्य घटेपछि उपभोक्ताले राहत पाएको उपभोक्ता अधिकारकर्मी अविनास भट्टराईको भनाई छ । ‘मूल्य घट्नु राम्रो हो’ उहाँले भन्नुभयो—‘यसले उपभोक्तालाई अलिकति भएपनि राहत हुन्छ ।’

नेपालमा व्यवसायिकरुपमा फलफूलको खेती पर्याप्तमात्रा गर्न सक्दा नेपालले फलफूलकालागि परनिर्भर बन्नु परेको उनीहरुको भनाई छ । गत आर्थिक वर्ष २०७७ ÷०७८ मा पूर्वी काँकरभिट्टा नाकाबाट मात्र ३२ करोड ९७ लाख ७६ हजार रुपैयाँ मुल्य बराबरका १६ प्रकारका ५ हजार ८ सय ४३ मेट्रिक टन फलफूल आयात भएको छ । मुलुकभित्र मागको तुलनामा उत्पादन बढ्न नसक्दा आयात हुने गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा यो नाका भएर ९ हजार १ सय ८७ मेट्रिक टन फलफूल आयातका लागि ३२ करोड ५६ लाख ५१ हजार रुपैयाँ विदेशिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा २७ करोड १ लाख ३० हजार रुपैयाँका फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख देविन्द्र साहुले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर