Aamsanchar

इटहरीमा वृद्धको शव फेला

Author Image
बुधवार, कार्तिक ३, २०७८

इटहरी – इटहरीमा एक वृद्धको शव फेला परेको छ। आर्मी क्याम्प छेउ भेटिएको शव इटहरी ७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको रहेको इटहरी प्रहरीले जानकारी दिएको छ। मंगलबार बिराटचोक जान भनी हिंडेका उनलाई राती आएको बाढीले बगाएको ल्याएको अनुमान गरिएको छ। इटहरीको उत्तरमा पर्ने पानीपियामा बेपत्ता भएका एक व्यक्तिलाई खोज्ने क्रममा काफ्लेको शव फेला परेको हो। मंगलबार साँझ बाइकसहित भेलले बगाएका यामबहादुर प्रधानलाई तीन घण्टापछि सकुशल उद्धार गरिएको थियो।

इटहरीमा अहिलेसम्मकै ठूलो बाढीले मंगलबार साँझदेखि जनजीवन अस्तव्यस्त बनाएको थियो। इटहरीको पूर्व पश्चिम महेन्द्र राजमार्ग तथा इटहरीदेखि तरहरासम्मको ६ लेनको सडकमा समेत पानी बगेर सवारी आवागमनसमेत अवरुद्ध बनाएको थियो।

बाढीले इटहरी ४, ८, ९ वडाका केही घरहरुसमेत भत्काएको छ। टेंग्रा खोला, खेती खोला, पानीपिया खोला, सुकुमारी खोलामा आएको बाढीले दर्जनौं घरहरुको एक तलासम्म डुबाएको थियो। कयौं उद्योग तथा पसलका सामान, मेसिनमा पानी पसेर करोडौंको क्षति भएको छ। बाढीले केही स्थानमा बाटोसमेत बगाएको छ।

बाढीमा फँसेका मानिसलाई उद्धार गर्न तथा खोला थुन्ने गरी अड्किएको फोहोर हटाउन प्रहरी, सशस्त्र तथा नेपाली सेना तथा इटहरी उपमहानगरपालिका रातभर सक्रिय बनेको थियो। तर उद्धार कार्य प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ।

बाटो भरी पानी भरिएर घरसमेत जान नसकेको अवस्थामा प्रहरीलाई भने पनि प्रहरी नपुगेको इटहरी ८ की आशा चौधरीले गुनासो गरिन्। जनप्रतिनिधिलाई फोन गरेर गुनासो गरे पनि वास्तै नगरिएकोसमेत नगरवासीको गुनासो छ।

खोला अतिक्रमण गरी घर बनाउँदा बाढीको समस्या बढेको स्थानीय बताउँछन्। यस्तै उपमहानगरपालिकाले ढलको उपयुक्त व्यवस्था नगर्दा र बाढीले वर्षेनी दुःख दिने गरेको स्थानीय अजय खत्रीको अनुभव छ।

इटहरीको टेंग्रा खोलामा शेहरा खोलाको बाढी मिसिने गरेको छ। शेहरा खोलालाई इटहरीको सिरानको जंगलमै तटबन्ध गर्ने कार्य भए पनि प्रभावकारी हुन सकेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर