Aamsanchar

केराबारीमा स्थापित सर्पदंश उपचार केन्द्र सञ्चालनमा

Author Image
बिहिवार, मंसिर ९, २०७८

सुनसरी — मोरङको केराबारी गाउँपालिकामा स्थापित सर्पदंश उपचार केन्द्र बुधबारदेखि सञ्चालनमा आएको छ । वडा ६ याङ्शिलामा सर्पदंशको उपचार सेवा केन्द्र सञ्चालन गर्न ४१ लाख रुपैयाँभन्दा बढीको भवन निर्माण गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले बताए ।

नेपाल सरकारको स्वास्थ्य सेवा विभागबाट अनुमति लिएर केराबारीको याङ्शिलास्थित कालोपानीमा सर्पदंश उपचार केन्द्र सुरु भएको हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सर्पदंशको उपचार सेवा दिने भए पनि औषधि उपचारमा महँगो शुल्क लाग्ने गरेको छ ।

केन्द्रले निस्शुल्क उपचार सेवा दिने छ । केराबारीमा उपचार केन्द्र सञ्चालनमा आएपछि उतरी मोरङको पहाडी क्षेत्र र छिमेकी धरान उपमहानगरपालिकाका बिरामी लाभान्वित हुने छन् । केन्द्रमा आकस्मिक कक्ष, अन्तरंग सेवा, वैठक कक्ष, ड्युटी रुम र स्टोर रुम रहेका छन् । आकस्मिक कक्षमा ३ वटा बेड राखिएको छ ।

गाउँपालिकाले सरकारी ऐलानी पर्ती जग्गा सर्पदंशका उपचार सेवाका लागि ५ कट्ठा जग्गा उपलब्ध गराएपछि १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २२ लाख रुपैयाँ, केराबारी गाउँपालिकाबाट १७ लाख रुपैयाँ, धरान उपमहानगरपालिकाबाट २ लाख रुपैयाँ र विभिन्न संघसंस्थाको सहयोगमा भवननिर्माण गरिएको निर्माण समितिका संयोजक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)