Aamsanchar

नयाँ पर्यटन गन्तव्य १३ कुनेको प्रचारका लागि महोत्सव हुने

Author Image
बुधवार, मंसिर २९, २०७८

बिर्तामोड । इलाम जिल्लाको माइ नगरपालिका वडा नम्बर १ बिहिबारेमा रहेको ऐतिहाशिक १३ कुने सिमसार पोखरीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानियहरु जुटेका छन् ।

करिव १ सय रोपनी क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र मध्ये ३५ रोपनी क्षेत्रलाई पोखरीमा परिणत गरिएको छ । २०२७ साल अधि सम्म डरलाग्दो झोसी (घुमाउने) नामले चिनिने गरेको सिमसारलाई समय अनुकुल विकास र प्रर्वधन गर्दै लाने र पर्यटन गन्तव्यको उपयुक्त स्थान बनाउने उदेश्यले सिमसारको प्रचार प्रसार गर्न आगामी पौष ८ गते देखि ११ गते सम्म सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको आज १३ कुने सिमसारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका अध्यक्ष कहरसिंह राईले जानकारी दिए ।

१३ कुने सिमसार व्यवस्थापन समिति मुख्य आयोजक र बरभञ्ज्याङ्ग सामुदायिक बन सह–आयोजक रहेर महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवको आकर्षणहरुमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न जातिको झाँकी प्रतियोगिता, खुल्ला भलिवल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, ट्रि–हाउस चड्ने व्यवस्था रहेको आयोजक समितिका सचिव गोविन्द सोताङले बताए ।

महोत्सव सफल पार्नको लागि २५ सदस्य समिति चयन गरिएको छ । महोत्सवको उद्घाटन प्रदेश प्रमुख राजेन्द्र राईले गर्ने तय भएको सचिव सोताङले जानकारी दिए ।

महोत्सव अवधीमा गायिका पार्वती राई, जादुगर राजेन्द्र गिरी, विश्वको होचो कलाकार मनोज गोर्खाली, हास्य कलाकार खड्गबहादुर पुन (खबबु), गायक बिनोद खम्बु र गायक राजेश पायल राईको प्रस्तुती पनि रहने आयोजकले जनाएकोे छ ।

महोत्सव आयोजनाको लागि २० लाख खर्च अनुमान गरिएको छ । नगरपालिका, सामुदायिक वन समूहबाट सहयोग र आगन्तुक पर्यटकबाट उठाईने प्रवेश शुल्कलाई मुख्य श्रोत बनाईएको छ ।

२०५० साल देखि संरक्षण गर्न सुरु गरिएको १३ कुने समुद्री सतहबाट ५ सय मिटर उचाईमा रहेको छ । लेक र तराईको मिश्रित वातावरण भएको ठाउँमा पर्छ १३ कुने ।

स्थानियहरुले देवीको बासस्थान भएको ठाउँ भन्दै देवीथान स्थपना गरेर पूजाआजा गर्दै आएका थिए । हाल पुरानो थान जिर्ण भएर भत्किएपछी पोखरीको डिल मास्तिर देवी थानलाई स्थानतरण गरिएको छ । नेपाल सरकारको ३५ लाख अनुदानमा डिपिआर, पोखरीमा तटबन्धन र पैदलमार्ग निर्माण गरिएको उपाध्यक्ष तिर्थ साउदेनले बताए ।

झापाको विर्तामोड मुक्तिचोकबाट ३० किलो मिटर दुरीमा रहेको १३ कुने पुग्न शनिश्चरे, खुदुनाबारी, दानाबारी सुक्रबारे, सितलु, पालटाङे हुदै जानस पर्ने हुन्छ, मोटर बाटोको सुविधा भएकोले सहजै पुग्न सकिन्छ । केही ठाउँको यात्रा भने जोखिमयुक्त रहेको छ ।

पत्रकार भेटघाट कार्यक्रको संचालन सञ्चारकर्मी विमल दाहालले गरेका थिए । कार्यक्रममा झापा र इलामका पत्रकारहरको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 892

प्रतिक्रिया (०)

सम्बन्धित खबर