Aamsanchar

बिरालो पकाएर खान्थे एक स्विस वृद्ध

Author Image
मङ्गलवार, चैत २९, २०७८

जेनेभा – सरकारी नोकरीबाट अवकाशप्राप्त एकजना स्विस वृद्धले आफ्नो एउटा अनौठो खाना खाने सौखको खुलासा गरेका छन् । ७२ वर्षीय पूर्व शिकारी तथा सौखिन कुक मार्टिन बुल्म्यानले आफूले बिरालो पकाएर खाने गरेको बताएका छन् ।

साथै उनले आफ्नी हजुरआमाले पकाउने सुंगुरको कान, बाछोको गिदी, फोक्सो, मुटु र ब्वाँसोको मासु पनि स्वाद मानी मानी खाने गरेको स्मरण गरेका छन् ।

स्विस रेडियो वृत्तचित्र दास टिएर अन्ड विर (जनावर र हामी)सँग कुराकानी गर्दै लसने सहर निवासी मार्टिनले भनेका छन्, “म निकै ठूलो र गरिब परिवारमा हुर्केको थिएँ । म सानो छँदा मेरी आमाले बेलुकीको खानामा बिरालो पकाउने गर्नुहुन्थ्यो । बिरालोको मासु साह्रै मिठो र सजिलै पच्ने खालको हुन्छ । बिरालोको मासु खरायोको भन्दा धेरै स्वादिलो हुन्छ । मलाई त विदेशदेखि आयात गरिनुपर्ने समुद्री खाना वा सुसी भन्दा बिरालोको मासु खानु धेरै नैतिकवान लाग्यो ।”

अखबार ब्लिककाअनुसार अझै पनि मानिसहरूलाई बिरालो वा कुकुर मारेर खान अनुमति दिने स्विजरल्यान्ड केही थोरै युरोपेली मुलुकमध्ये एक हो ।

हुन त बुल्म्यानले अहिले आफूले बिरालो खान छाडिसकेको तर बिरालो मारेर र पकाएर खाने मज्जा कुखुरा काटिखाने भन्दा निकै फरक रहेको बताएका छन् । साथै उनले भनेका छन्, “म जनावरहरूलाई तड्पाएर मार्दिन । गोली ठोकेर एकैचोटि मार्ने गर्छुं । कृषकहरूसँग बिरालोको संख्या बढी भयो भने मलाई तिनीहरूले सहयोगका लागि आग्रह गर्ने गर्दथे । घरमा नपालिएका बिरालो खाइदिनुपर्दछ ।”

तर उनले कुकुर खानेबारे भने फरक धारणा राख्ने गरेका छन् । उनी भन्छन्, “कुकुर खाने प्रसंग निस्कना साथ मलाई मरिसकेको मेरो प्यारो कुकुर ‘जुलियन’को बेस्सरी याद आउँछ ।”

इन्डिपेन्डेन्टबाट ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 512

प्रतिक्रिया (०)

सम्बन्धित खबर