Aamsanchar

चीन-पाकिस्तान बाटो बन्द

Author Image
बुधवार, वैशाख २८, २०७९

इस्लामावाद : भीषण गर्मीपछि आएको बाढीले पाकिस्तान प्रशासित कश्मीरको हुन्जा उपत्यकामा पुल बगाएको छ।  भीषण गर्मीका कारण पाकिस्तान प्रशासित कश्मीर​ (पीओके) मा शिस्पर ग्लेशियर पग्लिएपछि अचानक ठूलो बाढी आएको थियो। यसले गर्दा शनिबार ऐतिहासिक हसनाबाद पुल नदीमा खसेको हो। यो पुल पीओकेको गिलगित-बाल्टिस्तान क्षेत्रमा काराकोरम राजमार्गमा बनाइएको थियो।

उक्त पुल चीनले बेल्ट एन्ड रोड इनिशिएटिव (बीआरआई) अन्तर्गत बनाइदिएको थियो। पुल बगेपछि हजारौँ पर्यटक पुलका दुवैतिर अलपत्र भएका थिए।

घटनाको भिडियो पनि सार्वजनिक भएको छ। पक्की ब्लक भत्किरहेको र पुलको एक भाग भत्किएको देख्न सकिन्छ। प्राय: वर्षायाममा बाढी आउँदा यस्ता तस्बिरहरू देखिन्छन्।

यो पुल भाँचिएपछि काराकोरम राजमार्गमा पीओके र चीनबीचको सम्पर्क विच्छेद भएको छ। काराकोरम विश्वकै अग्लो सडकमध्येको एक भएकाले निकै आकर्षणको केन्द्रबिन्दु बनेको थियो। सरकारी निकायले पुल भाँच्चिएको र बगेको पुष्टि गरेका छन्।

सरकारी निकायले अहिले साना सवारीसाधन सास उपत्यका सडकतर्फ पठाइएको बताएका छन्। पाकिस्तानी मिडियाका अनुसार बाढीले हसनाबादका दुईवटा पावर प्लान्ट पनि बगाएको छ। यो विपद्‌मा फसेका मानिसहरूलाई सुरक्षित निकाल्न उद्धार कार्य शुरु गरिएको छ।

गिलगित-बाल्टिस्तान र खैबर पख्तूनख्वामा ३ हजारभन्दा बढी ग्लेशियर पग्लिएर ताल बनेका छन्। तीमध्ये ३३ वटा कुनै पनि वेला विस्फोट हुन सक्छन्। पाकिस्तानी जलवायु तथा वातावरणमन्त्री शेरी रहमानले जलवायु परिवर्तनका कारण यस्ता घटना भएको चिन्ता व्यक्त गर्दै कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न आह्वान गरेकी छन्। त्यस क्षेत्रमा ग्लेशियर भासिँदै गएको छ।

मे २०१९ मा नासाले शिस्पर ग्लेशियरको बारेमा जानकारी दिँदै बाढी आयो भने काराकोरम राजमार्ग, हसनाबाद वरपरका गाउँहरू, कैयौँ सिँचाइ परियोजनाहरू र पावर प्लान्टहरू प्रभावित हुने चेतावनी दिएको थियो।

अत्यधिक गर्मीका कारण विगत २० दिनमा शिस्पर हिमतालको पानी ४० प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर