Aamsanchar

विकासको कारण घाँसीकुवाको विनास हुने खतरा

Author Image
बुधवार, असार २९, २०७९

भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।

प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ । भानुभक्त मामाघर मानहुँ ९हालको व्यास–५० मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गर्नुभएको थियो(

भर्जन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो ।

हाल कुवा रहेको पारीपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राम्हणको बस्ती छ । कुवाको नजिक पन्थ बस्ती रहेकाले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताए।

पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत स्थानमा रहेको बुल्दी खोला किनारको भागलाई उठाएर समथर बनाएर संरक्षण गर्न सकिने विकल्पबारे स्थानीयवासीले सुझाव दिँदै आएका छन् । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका–११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताए ।

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरी दिँदा पहिचानमा कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउछन् । हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय बासिन्दाले भानु घाँसी उद्यान बनाउन दिने निर्णयसमेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिए ।

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई व्यास–१२ कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानमा असर पर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने घाँसीकुवामा चमेना गृह सञ्चालन गर्दै आएकी लीलावती पन्थले बताइन् ।

उक्त कुवा र उद्यान संरक्षणका लागि तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । चिनियाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने कार्य गरिरहेको छ । चाइना एण्ड कम्युनिकेशनको उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 394

प्रतिक्रिया (०)

सम्बन्धित खबर