Aamsanchar

मृदुंगा झर्नामा पर्यटकको भीड

Author Image
सोमवार, असोज १०, २०७९

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका–३ र ४ स्थित मृदुंगा (मिलुङ) झर्नामा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको चाप बढेको छ । धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर नदीको किनारैकिनार खनिएको तमोर करिडर सञ्चालनमा आएसँगै यहाँ पर्यटकको भीड लाग्न थालेको हो ।

यो झर्ना पुग्न तमोर करिडरअन्तर्गत पाँचथरको माझीटारबाट सुभाङ हुँदै जानुपर्छ । झर्नाको फेदमा जमेको सानो पोखरीमा पौडी खेल्न र नुहाउन सकिन्छ । तमोर करिडरसँगै यस झर्नामा मेची राजमार्गको फिदिम–इलाम सडक हुँदै पाँचथरको गोपेटार र हिलिहाङ दरबार भएर पनि पुग्न सकिन्छ ।

सडक सञ्जालले जोडिएपछि सार्वजनिक बिदाको मौका छोपी यहाँ आउने बढ्दै गएका छन् । ‘मनमोहक झरना र यहाँ बहने शीतल हावाले मन तान्यो, झर्नाको फेदमा व्यवस्थित स्विमिङ पुल भइदिएको भए आइपुग्नासाथ पौडी खेल्नलाई हाम फालिसक्थें,’ बेलायती नागरिक क्यार्नीले कान्तिपुरसँग भनिन् ।

स्थानीय होटल व्यवसायी सुरेश चापागाईंका अनुसार पछिल्लो समय ताप्लेजुङ र पाँचथर आइपुगेका बाह्य पर्यटक यो झर्ना नघुमी फर्कंदैनन् । यत्तिको चहलपहल हुने यो पर्यटकीय स्थल विकासका लागि भौतिक पूर्वाधार निर्माण मन्त्रालयले दुई वर्षअघि गुरुयोजना बनाए पनि काम अगाडि बढाइएको छैन । मध्यपहाडी लोकमार्गदेखि झर्नासम्म पुग्ने करिब ३ सय मिटर कच्ची बाटो व्यवस्थित गर्न, आसपासमा सेल्फी कर्नर बनाउन र स्विमिङ पुल निर्माण गर्नेसम्मका योजना गुरु योजनामा समेटिएका छन् । बाटो आसपास रहेका स्थानीयको जग्गा लिने प्रक्रिया झन्झटिलो भएकाले काम सुरु गर्न कठिनाइ भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।ठूलो परियोजना अगाडि बढाउन ढिलाइ हुने देखिएपछि वडा कार्यालयले सडक व्यवस्थित गर्नका लागि केही रकम छुट्याएको हिलिहाङ–४ का वडाध्यक्ष बृहस्पति गिरीले बताए । गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले झर्नालाई गुरुयोजनाकै आधारमा पर्यटकीय स्थलका रूपमा विकास गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)