Aamsanchar

 २० वर्ष पछि प्राधिकरणले आँखा खोल्यो,  सुरक्षाबारे सूक्ष्म अध्ययन गर्न भन्दै देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

Author Image
सोमवार, असोज ३१, २०७९

काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अब हामी उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्दैछौं ।’

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्याराग्लाइडिङ विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षा सम्बन्धी सवाल पनि पेचिलो बनेको छ । प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षाबारे पर्याप्त व्यवस्था नहुँदा भएको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले त्यस्ता व्यवस्था नभइन्जेललाई उडान रोकेको हो ।

यसले देशभर प्याराग्लाइडिङ उडान बन्द हुनेछ ।

पर्यटकीय गन्तव्य पोखरामा प्याराग्लाइडिङ सुरु भएको साढे दुई दशक हाराहारी पुगेको छ । यस अवधिमा व्यवसायिक (टेन्डम) उडानमा दुई प्याराग्लाइडिङ उडान दुर्घटनामा परेका छन् र तीन जनाले ज्यान गुमाएका छन् ।

सोलो उडानका क्रममा भएको दुर्घटनामा भने १५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । चैत २०७७ मा नेपाली सेनाका जवान प्रशिक्षणका क्रममा सोलो उडानमा दुर्घटनामा परेका थिए । सोही वर्षको मंसिरमा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो । २०७५ सालमा पनि अनुमति नलिई उडेका विदेशी सोलो पाइलटहरु दुर्घटनामा परेका थिए ।

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी खेलकुदका क्रममा भएको घटनालाई लिएर समग्र व्यवसायिक उडानमाथि रोक लगाउँदा व्यवसायमा पर्नसक्ने असरको विश्लेषण नै नभएको बताउँछन् ।

‘दुई दशकको इतिहासमा दुई पाइलट र एक यात्रुले मात्र व्यवसायिक उडानमा ज्यान गुमाउनुभएको छ’, उनले अनलाइनखबरसँग भने, ‘जति पनि दुर्घटना भएका छन्, ती कि सिकारुहरुले सिक्ने क्रममा भएका छन् या त खेलकुदको क्रममा ।’

व्यवसायिक र सोलो उडानबीच तुलना गरेर उडान सुरक्षालाई विश्लेषण गर्नुपर्ने उनको जोड छ । सोलो उडानलाई नियमन गर्न जरुरी रहेको भन्दै उनले सरकारले सबै प्याराग्लाइडिङलाई एउटै नजरबाट हेर्दा थप समस्या निम्तिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर