Aamsanchar

मानुङकोटमा सूर्योदय र कुहिरो हेर्न पर्यटककाे भिड

Author Image
आइतवार, कार्तिक २०, २०७९

तनहुँ – सूर्योदय र कुहिरो हेर्न हिजाे शनिवार तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजारभन्दा बढी पर्यटक पुगेका थिए । दमौली बजारलाई कुहिराेले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक हिजाे मानुङकोट पुगेका हुन् ।

मानुङकोटमा शुक्रवार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रवार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेन्टमा रात बिताएका  थिए भने शनिवार बिहानैदेखि पर्यटकको भिड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिनुभयो । ‘यस वर्षको सबैभन्दा बढी भिड हिजाे भएको थियाे । पाँच हजारभन्दा बढीको उपस्थिति थियाे’, उहाँले भन्नुभयो,’आन्तरिक पर्यटकको आगमनले गाडी व्यवस्थापनमा समस्या भएको थियो ।’

व्यास नगरपालिका–२ का कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको बताउनुभयो । ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ’, उहाँले भन्नुभयो,’हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्यौँ ।’

केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताउनुभयो ।

चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराेले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो बिस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला ।

पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उहाँको भनाइ छ ।

मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिराेले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

खानेपानीको अभावमा २०५२ सालमा मानुङकोट छाड्नुभएकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर