Aamsanchar

राष्ट्रिय राजनीति : कसले र कसरी गर्ने ?

Author Image
सोमवार, कार्तिक २१, २०७९

डेभिड इस्टनका अनुसार राजनीतिको शाब्दिक अर्थ स्रोतहरूको उचित व्यवस्थापन हो।

स्रोत भन्नाले आर्थिक, मानवीय, खनिज या अन्य जुनसुकै वस्तु या विचार हुन सक्छन्। परिवार, समाज या राष्ट्रमा आउने जुनसुकै समस्याको उचित व्यवस्थापन पनि राजनीति नै हो।

त्यसैले आममानिसको बुझाइजस्तो राजनीति फोहोरी खेल होइन। राजनीति कसरी फोहोरी हुन्छ जब यो नै राज्य सञ्चालनको एक मात्र आधार हो भने१ खासमा यो खेलका खेलाडी चाहिँ फोहोरी भएका हुन्। सत्ता र पैसाको लोभ र उन्मादले राजनीतिका खेलाडीहरूलाई धमिल्याएका कारण यो खेललाई फोहोरी ठानिएको मात्र हो।

तर जतिसुकै फोहोरी किन नहोस्, यो फोहोर सफा गर्न पनि एक सच्चा इमानदार राजनीतिज्ञकै खाँचो पर्छ।

यसो भनिरहँदा के हाम्रो राजनीति यसरी नै चलिरहन्छ त ?

अवश्य चल्दैन। विश्वमा भएका अनेकन परिवर्तनका कारण हामीले असल राजनीतिक संस्कारभन्दा पहिले असल व्यवस्था पायौं। उदारवादी लोकतन्त्र पायौं। तर यो उदारवादी लोकतन्त्र र संघीयतालाई हामीले पूर्ण रूपमा संस्थागत गर्न सकिरहेका छैनौं। हामी अहिलेको अवस्थाबाट बिस्तारै परिष्कृत हॅुदै अघि बढ्ने प्रक्रियामा छौं।

राजनीति कस्तो र कसले गर्नुपर्छ त ?

यो प्रश्न प्राचीनकालदेखि बारम्बार सोधिएको छ। विभिन्न विद्वानहरूले आ-आफ्नो दर्शन दिएका छन्। मनुस्मृति, चाणक्यनीति, प्लेटोको आदर्श राज्य, मेकियभेलीको प्रिन्स आदि रचनाहरूमा तत्कालीन समयसापेक्ष सोचहरू हामी पाउँछौं। ती तत्कालीन परिवेशका सोचमध्ये केही अझै समयसापेक्ष हुन सक्छन्। हामी त्यसै आधारमा वर्तमान समयको आवश्यकताअनुसार नयाँ विचार बनाउँदै जान सक्छौं। यो यसरी नै अनन्त चलिरहने प्रक्रिया हो।

एउटा शिक्षक, डाक्टर, इञ्जिनियर या जुनसुकै विज्ञानको ज्ञाता हुन विषयगत शैक्षिक योग्यता र परीक्षा उत्तीर्ण हुनुपर्छ। विज्ञान अनुभवका आधारमा मात्र परिपूर्ण हुँदैन, सैद्धान्तिक शिक्षा अपरिहार्य हुन्छ। राजनीति पनि एउटा विज्ञान नै हो।

डेभिड इस्टन, रोबर्ट डाहल, आल्मन्ड लगायत धेरै विद्वानले राजनीतिशास्त्रलाई वैज्ञानिक ढंगबाट अध्ययन गर्ने परिपाटी सुरू गरेका थिए। भलै यो पूर्ण विज्ञान हुन सकेको छैन तर यसमा पनि अनेक नीतिनियम स्पष्ट छन् जसको ज्ञानका लागि राजनीतिक शिक्षा अपरिहार्य छ।

अब हाम्रो देशको राजनीति र हाम्रा राजनीतिज्ञहरूलाई हेरौं।

विगतको राणाकालीन र निरंकुश राजतन्त्रात्मक परिवेशका कारण नेपालीहरूले उचित शिक्षा प्राप्त गर्न सकेनन्। त्यो अवस्थामा नागरिकको हकहित र व्यवस्था परिवर्तनका लागि हाम्रा राजनीतिक दलका नेताहरूले ठूलो बलिदान दिएकोमा दुईमत छैन। अब अवस्था बदलिसकेको छ। अब हामी स्वयं अनुशासनमा बस्न सक्नुपर्छ। हाम्रा नेताहरूको दायित्व भनेको भावी पुस्ताका लागि जोन राउलले भनेजस्तो अनभिज्ञताको पर्दामा रहेर भविष्यको परिकल्पना गर्नु र त्यसका लागि जग तयार गर्नु हो।

यसरी आफूलाई अज्ञानताको पर्दामा राखेर आफू कस्तो व्यवस्थामा जिउने परिकल्पना गरिन्छ त्यो व्यवस्था निर्माण गर्न चाहिने एक मात्र तत्व इमानदारी हो। इमानदारीमा इच्छाशक्ति पनि थप भए जस्तोसुकै कार्य सम्भव छ। जसरी अमेरिका अठारौं शताब्दीमा व्याप्त विकृत प्रणालीबाट मेरिट प्रणालीमा आयो, अब हामीले निर्माण गर्ने राज्य भनेको त्यही प्रणालीमा हुनुपर्छ।

हामी नेपालीहरू आफूलाई अन्तर्यामी सम्झन्छौं। एकै व्यक्ति कहिले अर्थमन्त्री, कहिले गृहमन्त्री, कहिले परराष्ट्रमन्त्री या पाए जुनसुकै मन्त्री बन्ने खुबी राख्छन्। न विषयगत शैक्षिक योग्यता, न अनुभव। तै पनि सबै कुरा बुझ्न सक्ने हामी नेपालीहरू वास्तवमै महान छौं।

नेता मात्र होइन, हामी जनता पनि उस्तै छौं। चियापसल, चौबाटो जहाँ पनि जुनसुकै विषयमा हामी निर्धक्क यसो र उसो हुनुपर्छ भनेर आफ्नो अद्भुत विज्ञता बाँड्न पछि पर्दैनौं। किन यस्तो गर्छौं त हामीरु

किन कि हामी आफूलाई सर्वोपरि ठान्छौं, विज्ञ ठान्छौं। विज्ञानलाई एकदमै सहज ढंगले लिने गर्छौं।

गुरूत्वाकर्षणको एउटा सिद्धान्त संसारले पाउन कति समय कुर्नुपर्यो ? आइन्सटाइनले आफ्नो सापेक्षताको सिद्धान्तका लागि कति मेहनत गरेका थिएरु हामी त क्षणभरमै यसो र उसो हुनुपर्छ भनेर निष्कर्ष निकालिहाल्छौं। यो हाम्रो ठूलो भूल हो। हामीले विज्ञानलाई समय दिनुपर्छ, विज्ञलाई स्थान दिनुपर्छ।

यसका लागि विषयगत विज्ञहरू सम्बन्धित ओहोदामा रहनुपर्छ। विज्ञ हुँदैमा व्यवस्थापन गर्न सक्छन् त भन्ने प्रश्न पनि उठ्छन्। विषयगत विज्ञ एकले नसके अर्कोले सक्ने सम्भावना जति धेरै हुन्छ, त्यसको दाँजोमा अनुभव भएका तर विषयगत ज्ञान नभएकाहरूबाट हुने सम्भावना एकदमै कम हुन्छ।

जब राजनीतिमा पनि विषयगत विज्ञताको कसी राखिनेछ तब सबै नागरिकलाई अध्ययन गर्न कर लाग्नेछ। शिक्षाबिना राजनीति असम्भव भयो भने विद्यालय, क्याम्पसमा ढुंगामुढा, तालाबन्दी स्वतः हराउने छ। यो विषय वर्तमान संसदबाटै सम्भव नहोला तर बिस्तारै जुन बौद्धिक चेतना विकास हुँदै गइरहेको छ, एक दिन अवश्य यो कुरा सम्भव हुनेछ।

काठमाडौं महानगरमा बालेन शाहको उदयपछि अरनिको पाण्डे, सागर ढकाल, निकोलश भुसालजस्ता विषय विज्ञहरूको राजनीतिमा प्रवेशको लहर आएको छ। यसलाई सार्थक बनाउनु आमनेपालीको भविष्यका लागि सुखद सुरूआत हुनेछ। ढुंगामुढा गर्नेले जान्ने तर पढेलेखेकाले जान्दैन भनेर पूर्वाग्रह राख्नु फोहोरी राजनीति नै हो। यस्तो राजनीति अब हामीलाई स्वीकार्य छैन। अबको हाम्रो आन्दोलन र अबको हाम्रो राजनीति पद्धति विकासमा केन्द्रित हुनुपर्छ।

पुराना नेताहरूले देशका लागि जे जति योगदान दिए, त्यसको कदर गर्दै उनीहरूको उचित पुनर्स्थापना हुनुपर्छ। अब राजनीति गर्ने विज्ञहरूले उनीहरूको अनुभव आत्मसात् गरी देश विकासमा इमानदारीका साथ लाग्नुपर्छ।

सम्पत्ति कमाउने उद्देश्य भएकाहरू व्यापार या अन्य जुनसुकै व्यवसायमा लाग्दा हुन्छ। राजनीतिको अर्थ जनताका लागि निःस्वार्थ काम गर्नु हो। देश बनाउन कुनै ठूलो वाद होइन, विषयगत दक्षता, मानवीयता र इमानदारी भए पुग्छ।

साउन १३ गते सेतोपाटीमा प्रकाशित सामग्रीलाई साभार गरिएको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर