Aamsanchar

 आज बालाचर्तुदशी, शत बीज छर्ने किंवदन्ती यस्तो 

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

फायल फोटो । झापाको सातसीधाम

पितृका नाममा दीप दान
आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।

हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ ।

शत बीज छर्ने चलन
आउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौँ, यो दिनको विषयमा । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो ।

मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।

शत बीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?
शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । मङ्सिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।

शत बीज छर्ने किंवदन्ती
शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।

बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।

उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।

साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 304

प्रतिक्रिया (०)

सम्बन्धित खबर