Aamsanchar

हावाहुरीका कारण विधुतीय संरचनामा करिब ३० लाखको क्षति

Author Image
मङ्गलवार, जेठ १२, २०८३

रौतहट –  विधुत प्राधिकरण गौर शाखाअन्तर्गत विधुतीय पोल र ट्रान्सफर्मरमा व्यापक क्षति भएको छ । सोमबार राति आएको हावाहुरीका कारण करिब ३० लाखको क्षति पुगेको र विधुत आपूर्तिमा समस्या आएको गौर वितरण केन्द्रका प्रमुख इन्जिनियर धिरेन्द्र कुमार यादवले जानकारी दिए ।

हावाहुरीका कारण रौतहटको जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चौक आसपास क्षेत्रमा रहेको चपुर–गौर ३३ केभी विद्युत लाइनमा समेत ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण शाखाका प्रमुख इन्जिनियर यादवका अनुसार २ वटा २ सय केभीको ट्रान्सफर्मर,२१ थान ११ मिटरका पोल र ९ थान ९ मिटरका पोलमा क्षति पुगेको छ ।

प्राधिकरणले विद्युत लाइन मर्मतका लागि प्राविधिक कर्मचारीहरू फिल्डमा खटिसकेको जनाएको छ । क्षतिग्रस्त पोल तथा तार मर्मत सम्पन्न भएपछि मात्रै विद्युत सेवा पुनः सञ्चालन गरिने जानकारी यादवले बताए ।

 

हावाहुरीबाट विद्युत संरचनामा ठूलो क्षति पुगेकाले गौर,गरुडा तथा आसपासका क्षेत्रमा आज दिनभर पटक–पटक विद्युत अवरोध हुन सक्ने यादवले बताए । विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयवासी,व्यवसायी तथा सर्वसाधारणलाई दैनिक कामकाजमा समस्या भएको छ ।

प्राधिकरणले मर्मत कार्य तीव्ररूपमा भइरहेको जनाउँदै सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेको छ ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर