Aamsanchar

१२ वर्ष अगाडि नै दोषी ठहर भएका सांसद अरुण चौधरी आज जेल चलान

Author Image
शुक्रवार, माघ २०, २०७९

बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरी जेल चलान भएका छन्। सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका उनले शुक्रबार अदालतबाट पूर्जी बुझेर जेल चलान भएको जिल्ला कारागार कैलालीका निमित्त श्रेष्तेदार राजेन्द्र जोशीले जानकारी दिए।

जेल बस्नुको सट्टा नगद तिर्ने सुविधाका लागि अदालतमा जेलबाटै निवेदन दिन पाउने जोशीले बताए। उक्त सुविधा दिनेरनदिनेबारे निर्णय अदालतले गर्नेछ। सोही मुद्दाका अर्का अभियुक्त वीरबहादुर चौधरीलाई भने अदालते उक्त सुविधा दिन अस्वीकार गरिसकेको छ। लामो समय फरार रहनुका साथै अदालतमा बयान दिन समेत नआएको भन्दै सुविधा दिन अस्वीकार गरेको हो। यस हिसाबले चौधरीले उक्त सुविधा पाउने सम्भावना कम छ।

बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर चौधरीलाई काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्‍याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा बसेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई शुक्रबार बिहान कैलाली जिल्ला अदालतमा उपस्थित गराएको थियो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।

स्थानीय महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको कसूरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ। उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई समेत अदालतले दोषी ठहर गरेको थियो। उनीहरूले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए।

उक्त विषयमा जाहेरी परेपछि उनीहरू तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए। तीनै जना प्रतिवादीहरूका नाममा अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसूर स्वीकार गरेको अदालतले जनाएको छ।

२०६६ साल भदौ ३ गते कैलालीको चिसापानीस्थित गोरङ्गा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरूले ट्र्याक्टरमा आगजनी गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर