Aamsanchar

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया बालिकाको उद्धार

Author Image
शुक्रवार, माघ २०, २०७९

काठमाण्डाै – मानव बेचबिखन अनुसन्धान ब्युरोले बलि दिन नेपालबाट भारत पुर्‍याइएकी एक १६ वर्षीया बालिकाको उद्धार गरेकाे छ । ब्युरोको पहलमा भारतको दिल्लीमा रहेकाे मङ्गलबजार गल्लीबाट यही मङ्गलवार बालिकाकाे उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ ।

ब्युराेले यहाँ आज पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो ।’बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लैजानुअघि बालिकाको तौल, उचाइ, शरीरमा दाग, ट्याटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ’, ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भन्नुभयो ।

उहाँका अनुसार बालिकालाई भारत लैजानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु नभएकाे, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उनलाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

उहाँले थप्नुभयो,’प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आउँदाे पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।’

निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो,’हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियाैँ । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।’

पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाण्डाै ल्याइएको थियो । पुस १९ गतेसम्म काठमाण्डाैमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीमा रहेकाे पाहाडगञ्जमा पुर्‍याइएको प्रहरीको भनाइ छ ।

भारत पुर्‍याएपछि भारतका विभिन्न तीन ठाउँमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा बालिकालाई लगिएको प्रहरीकाे भनाइ छ । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ ।

पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार  हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन तथा ओसारपसार  हुनबाट बालिका, महिला, बालक र पुरुष गरी ४ सय ४३ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर