Aamsanchar

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल उद्घाटन

Author Image
बिहिवार, जेठ १८, २०८०

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको कार्गो रेल उद्घाटन भएको छ। बिहीबार दिउँसो हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मालवहाक रेलको उद्घाटन गरेका हुन्।

उद्घाटनपश्चात बथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म बिहीबारदेखि कार्गो रेल सञ्चालनमा आउने भएको छ । दुवै देशमा प्रधानमन्त्रीले रेलको उद्घाटन गरेपनि मुआब्जा विवादका कारण नेपालतर्फ रेलको अन्तिम गन्तव्य मोरङको कटहरी क्षेत्रमा रेलमार्ग निर्माण अवरुद्ध छ। बथनाहा–कटहरी १८.६ किलोमिटरमध्ये निर्माण र परीक्षण सम्पन्न भइसकेको बुधनगरसम्मको ८ किलोमिटरमा मात्रै रेल सञ्‍चालन हुनेछ।

रेलमार्ग निर्माण सम्पन्न नभए पनि सीमित दूरीमा कार्गो रेल सञ्‍चालनसँगै व्यापारिक मालवस्तु ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ। औद्योगिक कच्चा पदार्थ र सामान ढुवानीमा आर्थिक भार कम पर्ने उद्योगी व्यवसायी बताउँछन्। रेल सञ्‍चालनका लागि बुधनगर स्टेशनमा गोदाम र लिक मर्मतलगायत व्यवस्थापनसँग सम्बन्धित कामहरु सकिएको छ।

२०६८ सालदेखि सुरू भएको बथनाहा–कटहरी रेलमार्गको निमार्ण २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो। तर,कटहरी खण्डको मुआब्जा विवादका कारण भारतीय पक्षलाई जग्गा हस्तान्तरण हुन नसक्दा रेलमार्ग निर्माण सम्पन्न हुन सकेको छैन।

रेल–वे निर्माणमा भारतले सहयोग गरिरहेको छ। २०७५ कात्तिक ८ गते बथनाहा–बुधनगर रेल–वेको लिक परीक्षण गरिएको थियो। परीक्षणले रेल संचालन योग्य रहेको देखाए पनि हालसम्म रेल सञ्‍चालन हुन सकिरहेको थिएन।

औद्योगिक कच्चा पदार्थ बोकेको रेल बथनाहादेखि बुधनगरसम्मको निर्धारित दूरीमा १५ मिनेटमा आइपुग्ने जनाइएको छ। उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलका अनुसार कार्गो रेल सञ्चालनसँगै सामानको आयातनिर्यात ३५ प्रतिशतसम्म सस्तो पर्नेछ। ढुवानी छिटो हुने,मालवस्तु टुटफुट नहुने र मालसामान बीच बाटोबाटै हराउने सम्भावना पनि नहुने प्याकुरेलले बताए। भने,‘लागत सस्तो पर्नेवित्तिकै औद्योगिक उत्पादन निक्कै सहज हुने छ।’

विराटनगर भन्सारमा दैनिक लगभग ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ। भारतबाट ८० प्रतिशत र तेस्रो मुलुकबाट २० प्रतिशत मालवस्तु आउने गरेको छ। कार्गो रेल सञ्चालनसँगै भारतबाट आउने ६० प्रतिशतभन्दा बढी र तेस्रो मुलुकबाट आउने सबै रेलमार्फत ल्याउन सकिने उद्योगी व्यवसायी बताउँछन्।

उनीहरुका अनुसार ट्रकको प्रयोग गरेर मालवस्तु ढुवानी गर्दा १५ टनको ४० हजार भारतीय रूपैयाँ पर्छ। रेलमार्फत ल्याउँदा १५ हजार भारतीय रूपैयाँसम्म बचत हुने उनीहरुको दाबी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर