Aamsanchar

धार्मिक, प्राकृतिक, सामाजिक र आर्थिक पक्षले सम्पन्न साउन महिना

Author Image
सोमवार, साउन १, २०८०

यो वर्षको साउन महिना सुरु भकोछ । हिन्दु संस्कृतिमा साउन महिनाको छुट्टै विशेषता र महिमा छ । धार्मिक, सामाजिक, प्राकृतिक र आर्थिक  रूपको सम्मिश्रण हो साउन महिना । श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्ति पर्वको रूपमा मनाइन्छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने विभिन्न चाडपर्व हरूमध्ये साउने संक्रान्ति पनि एउटा महत्वपूर्ण चाड हो । ज्योतिष शास्त्र अनुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्ति देखी सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने भएकाले यसलाई ’कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ विशेषगरी साउन महिनादेखि नै हिन्दु धर्मसँग सम्बन्धित चाडहरू भित्रिने पनि गर्दछन् ।

साउने संक्रान्तिको दिन असारे वर्षात्, खेतबारीको काम अनि हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन ’लुतो फाल्ने’ प्रचलन पनि छ । फलफूल, नैवेद चढाएर ’कण्डारक’ नामक राक्षसको पूजा गर्नाले लुतो, दाद, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।

धार्मिक दृष्टिकोणले पवित्र महिना साउन । अझै विशेष मनाइन्छ साउने सोमबारको व्रत ्र भगवान् शिवजीको प्रिय महिमा साउन, हिन्दु धर्मावलम्बीहरू अझ  विशेष महिलाहरू धार्मिक आस्थाका साथ एक महिना सम्म शाकाहार भई भगवान शिवको पूजा आरधना गर्दछन् । विवाहित महिलाहरू श्रीमान् र, परिवारको आयु आरोग्यताको लागी व्रत बस्दछन् भने अविवाहित महिलाहरू मनोकाक्ष पूरा हुने विश्वासका साथ शिव उपासना गर्दछन् । यो महिनाभर नेपालभरका शिव मन्दिर हरूमा भक्तजनहरूको घुईचो लाग्दछ मानिसहरू बोलबमका यात्रामा निस्कन्छन् ।

प्राकृतिक रूपले पनि साउन महिनाको छुट्टै महिमा छ । साउने झरी, रोपिएका धानका बिरुवा हरियो हुँदै आउने, वन जगंलमा  पलाएका पालुवा वयस्क हुँदै आउने अनि जङ्गल हरियाली हुने,।।।। यही प्रकृतिसँग तादाम्य मिलेर होला साउन महिना भर बालिका, किशोरी ,युवती, वृद्ध सबै उमेर समूहका महिलाहरूको हातमा हरिया पहेँला चुरा, पोते, टिका, वस्त्र अनि हत्केलामा मेहन्दी सजिएका हुन्छन । हरियो रङ प्रेम र वातावरण को  प्रतीक मानिन्छ । त्यस्तै यी  हरिया चुरा, टिका, पोते, वस्त्र दिने प्रकृतिको सम्मान गरिरहेको छ । हरियो चुरा, पोते मेहन्दी लगाउने परम्पराको कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समय यसले सामाजिक मान्यता पाएको छ । सौभाग्यको प्रतीक चुरा, टिका, पोते आदिले महिलाहरूलाई अझ आकर्षक बनाइदिन्छ ।

असारमा धान रोप्दा हात हिलो र फोहोर पानीले बिग्रिएको बेला सफा सुग्घर भई तिउरीको पात पिसेर हातमा लगाइन्थ्यो पहिले पहिले समयको गति सङ्गै ’तिउरीको पात’ को स्थान बजारमा पाइने मेहन्दीले लिएको मात्र हो । तर  हिजो आज बजारमा पाइने विभिन्न केमिकल मिसिएका मेहन्दीहरूले छालामा एलर्जी लगायतका  रोगहरू पनि निम्त्याएका छन् यसप्रति भने हामी सजग हुनुपर्छ । सौभाग्यको प्रतीक महिलाहरूले चुरा लगाउने चलन त हामीकहाँ  पुरानै हो। खाली नाडी पूजा गर्नुहुन्न भन्ने धार्मिक मान्यता पनि रहिआएको छ । अझ चुराको छिन छिन आवाजले त आमा आउनु भएको परै बाट थाहा हुन्थ्यो अझै गाउँघरतिर त चुराको त्यो छिन छिन आवाजले कीरा फट्याङग्रा र सर्पहरू भाग्छन् र हामीलाई हानी नोक्सानी  पुर्याउँदैन ।  प्रकृति नै हरियाली हुने भएर हरियो चुरा, शिवजीको मन पर्ने रङ पहेँलो भएर पहेँला चुरा, अनि  सौभाग्यको रङ रातो भएर हरियो, पहेँलो र रातो चुरा हामी लगाउँछौ ।

हिजोआज साउन महिनामा आफन्तजन साथीहरूलाई उपहारको रूपमा हरियो चुरा, पोते, टिका मेहन्दी, वस्त्र आदि  आदानप्रदान गरेर माया साटासाट गर्ने थालिएको छ । जसले गर्दा आपसी माया, सद्भाव बढाएको छ, सम्बन्धलाई अझ प्रगाढ बढाउन मदत पुर्याएको छ । धार्मिक, प्राकृतिक र सामाजिक महत्व सधैँ यसको आर्थिक महत्व पनि छ । नेपालको आर्थिक वर्ष पनि यही महिनाबाट सुरु हुन्छ । अन्य महिनामा भन्दा शृङ्गार र कस्मेटिक सामानको बिक्रीदर बढ्ने  गर्छ । सौन्दर्यकर्मीहरूको पेशामा पनि बढोत्तरी आउँछ । जसले गर्दा यो महिनामा आर्थिक चहलपहल, व्यापार व्यवसाय अन्य महिनाको तुलनामा वृद्धि हुने गर्दछ ।

विभिन्न  दृष्टिकोणले महत्वपूर्ण मानिएको साउन महिनामा धर्म, संस्कृति र परम्परा जगेर्नाको नाममा पछिल्लो समय  फेसन र देखासिकी बढ्दै पनि गएको छ । हरियो चुरा, मेहन्दी पोते टिका पहेँलो वस्त्रहरू  आस्थामा मात्र सीमित नरही फेसनको रूपमा लगाउन थालिएको पाइन्छ पनि । देखासिकीका रूपमा चाडपर्वलाई मनाउँदा दीर्घकालसम्म यसको अस्तित्व नरहन सक्छ । धर्म संस्कृति जगतको नाममा आर्थिक बोझ, नबढाऊँ । आर्थिक मितव्ययिता कायम गरौँ।

संस्कृतिको दिगोपन र मौलिकपन गुम्न नदिई सदैव परम्पराको रक्षा गर्न सक्ने शक्ति भगवान शिवजीले हामीलाई दिनुहोस् भनी प्रार्थना गरौँ ।
सबैलाई साउन महिना, साउने संक्रान्ति, सोमवार व्रतको हार्दिक शुभकामना । 

लेखक आचार्य आमसंचार डटकमको नारी सञ्चार बिटमा लेख्ने पत्रकार हुन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर