Aamsanchar

के म हिन्दु हुँ ? के हो मेरो धर्म ? के मलाई धर्मका ठेकेदार हरूले हिन्दु स्वीकार गर्छन् ? 

Author Image
शुक्रवार, भदौ १, २०८०

म कुनै न कुनै खालको अलौकिक शक्ति छ भन्ने कुरामा विश्वास गर्छु, कुनै न कुनै कगउभचलबतगचब supernatural power  छ भन्ने लाग्छ तर कुनै एक धर्मले मानेको देउता नै एक मात्र सत्य हो र बाँकी धर्मले मान्ने देउता केही पनि होइनन् भन्ने ठान्दिन ।

म मन्दिर, गुम्बा, मस्जिद, चर्च सबै तिर सिर निहुरिएर सम्मान व्यक्त गर्न सक्छु र उनीहरूले मानेका देउता हरुलाइ पनि आदर गर्न सक्छु। भगवान हुदैनन् भन्ने नास्तिक हरूलाई पनि सम्मान गर्न सक्छु, उनीहरूको आफ्नो स्वतन्त्रता हो।

मेरा धेरै साथी भाइ हिन्दु, इसाई , मुस्लिम, बौद्व, किरात लगायत धर्म अपनाउने देखि नास्तिक सम्म छन् अनि उनीहरूले मान्ने धर्म सँग जोडिएका चाड पर्वमा सहभागी हुन्, रमाउन सक्छु यदि ति प्रत्यक्ष अमानवीय र विभेदकारी छैनन् भने। जस्तै, दसैँ, तिहार, क्रिष्मस, रमदान लगायत। 

म भौतिक रूपले भन्दा पनि मनले पुजा गर्न रुचाउँछु, धार्मिक स्थल पस्न नै हुदैन भन्नेचाइ होइन। मेरो निम्ति धर्म कमाउन मन्दिर जानै पर्ने, भजन कीर्तन गाउनै पर्ने, कुनै देउता वा ‘बाबा’ को कट्टर भक्त हुनु पर्ने भन्ने छैन। जानेर नराम्रो काम सके सम्म नगर्ने अनि सकेको बेला आफू भन्दा कम्जोर मानिस लाइ सहयोग गर्ने ‘मानव धर्म’ नै मेरो निम्ति सबै भन्दा ठुलो धर्म हो। आफ्नो खुसी र सुखको लागि अनि अरुलाई विभेद र अन्याय नगरी धार्मिक स्थल जाने, पुजा पाठ गर्ने, व्रत बस्ने लगायत धार्मिक क्रियाकलाप गर्ने प्रति पनि मेरो कुनै विरोध छैन। तथापि सबै धर्म मा हुने विकृति र फ़्रड बाबाहरूको भने विरोध गर्छु।

म जातीय विभेद जस्तो अमानवीय विभेद मान्दिन। मलाई समाजले बराल थर भएको घरमा जन्मिएको कारण ब्राह्मण मान्छ तर म आफूलाई जन्म कै आधारमा ब्राह्मण मान्दिन। ब्राह्मण, क्षत्री, वैश्य र सुद्रका नाममा अनेकन जात खडा गरि कोही जन्मदै अछुत अनि कोही जीवनमा जति कुकृत्य गरे पनि ब्राह्मण नै रहने लज्जास्पद प्रथाको घोर विरोधी हु । आफूलाई ब्राह्मण भनेर दाबी गर्ने सबैलाई म ब्राह्मण मान्दिन किनकि हिन्दु धर्मले जस्ता मानिसलाई ब्राह्मण प्राप्त गरेको भनेर वर्गीकरण गरेको छ, त्यस्तो मानिस आजको संसार मा २-४ जना भन्दा धेरै छैनन् भन्ने मान्यता राक्छु ।

म श्रीमान देउता र मालिक अनि श्रीमती भक्त र दाश भन्ने मान्दिन । दुवै बराबर हुन्, एउटै रथका दुई पाङ्ग्रा हुन् भन्ने मान्यता राक्छु । मेरा निम्ति छोरा रछोरी समान हुन्, मृत्यु पछि स्वर्ग पुग्न सन्तान त्यसमा पनि छोरा नै जन्माउनु पर्छ भन्ने विश्वास गर्दिन । समलिंगी बीच हुने विवाह र सम्बन्ध लाई पनि मैले प्राकृतिक मान्छु। 

आफू लाई धर्म भन्दा माथि मानिसको रुपमा चिनाउन मन लाग्छ किनकि यही धर्मको अपव्याख्या गर्दै शताब्दीयौँ देखि ठुलो जनधनको क्षति भयो, हुँदै छ। कार्लमार्क्सले त धर्मलाई अफिम सँग नै तुलना गरेका थिए । आज पनि धेरै देशमा नागरिकको गाँस /बास / कपास / शिक्षा/स्वस्थ/रोजगारी जस्ता आधारभूत कुरामा ध्यान दिने गरिदैन अनि नागरिक लाई एकजुट र सचेत हुन् नदिन धर्मको नाममा द्वन्द्व गराई राख्ने र सत्तामा टिक्ने खेलमा शासकहरू छन्। तथापि, कतै धर्म खुलाउनु नै पर्ने अवस्थामा भने हिन्दु नै लेख्छु, भन्छु।

म जातिप्रथा, बाल बिबाह, बोक्सी प्रथा,  मानव -पशु बलि, सतीप्रथा, छाउपडी प्रथा जस्ता कुप्रथा मान्दिन। महिना बारी हुँदा अशुद्ध हुन्छन नारी भन्ने लाजमर्दो कुतर्क सँग पनि सहमत छैन ।

मैले धर्म ग्रन्थ आफै धेरै पढ्ने अवसर पाएको छैन, पढ्ने – बुझ्ने क्षमता र समय पनि नहोला। तथापि पश्चिमा जगतका धेरै प्रकाण्ड बिद्द्वान र वैज्ञानिकहरूले पनि हिन्दु धर्मका मूल ग्रन्थहरू असाध्यै वैज्ञानिक छन् भनेर मानेको कुरामा पूर्ण सहमत छु। हिन्दु ग्रन्थहरू हजारौं वर्ष पुरानो भएको दाबी गरिए पनि कतिपयले नपत्याउलान् तर सयौँ वर्ष अघि लेखिएको भन्ने कुरा आजको विज्ञानले पनि प्रमाणित गरेको छ।  “Imagination is the mother of invention ”  ‘कल्पनाशीलता नै आविश्कारको जननी हो’  भन्ने कुरालाई मात्रै मान्ने हो भने पनि हिन्दु ग्रन्थहरू ज्ञानको महासागर भने हुन् । हिन्दु ग्रन्थ लाई कसैले साहित्य नै मन्छन भने पनि त्यो साहित्य लेख्ने हरू सेक्सपियर हरू भन्दा लाखौ गुणा योग्य सक्षम थिए । केही दशक अघि सम्म असम्भव लाग्ने र आज हाम्रो दिन चर्या बनेको धेरै आविष्कार हिन्दु ग्रन्थमा सयौँ वर्ष अघि लेखिएका थिए। जस्तै, रेडियो /टिभी, फोन, हवाई जहाज, आणविक हतियार, बिधुत, टेस्ट ट्युब बेबी, उपचार विधि ( टाउको र लिङ्ग नै फेर्न सकिने ) लगायत कयौं कुरा छन्। यो अर्थमा अत्यन्त गर्व महसुस हुन्छ आफू लाई हिन्दु भन्दा। तथापि हिन्दु धर्मको नाममा जातीय लगायत विभेद लादिदा अनि बजारमा फ़्रड बाबाहरूले जनतालाई दिग्भ्रमित पारेको देख्दा लज्जा महसुस हुन्छ, चिन्ता लाग्छ, दुख लाग्छ अनि आफ्नो बिबेकले भ्याए सम्म कुप्रथा र विकृति हरूको विरोध गर्ने गर्छु ।

के मलाई धर्मका ठेकेदारहरूले हिन्दु स्वीकार गर्छन् ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर