Aamsanchar

धनकुटा नगरपालिकाद्वारा १७ सहकारीको दर्ता खारेज 

Author Image
शनिवार, भदौ १६, २०८०

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत सहकारीको दर्ता खारेज गरिएको हो ।

धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउँनुपर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनुपर्ने र यसको विवरण नगरपालिकामा बुझाउनुपर्ने प्रावधान छ । सो प्रावधान विपरित चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ । नौ वटा कृषि सहकारी, तीन वटा बचत तथा ऋण सहकारी, तीन वटा उपभोक्ता सहकारी तथा एकरएक वटा दुग्ध र विधुत सहकारी खारेजीमा परेका छन् । ऐनको व्यवस्था अन्तर्गत नचल्ने सहकारीहरूबाट आम मानिसहरू ठगिन वा समस्यामा पर्न सक्ने भएकाले दर्ता खारेज गर्नुपरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘वर्षौँदेखि साधारण सभा नगर्ने, अडिट नगर्ने सहकारीहरूबाट उपभोक्ताहरू ठगिन सक्छन्, कुनै पनि मानिस समस्यामा पर्नु हुदैन भनेर पटकपटक ताकेता गर्दा पनि नमानेपछि त्यस्ता सहकारीको दर्ता खारेज गरेका छौं,’ मेयर तामाङले भने, ‘अहिले १७ वटा सहकारी खारेजीमा परेका छन्, अरु सहकारीको विषयमा पनि अनुगमन गर्दैछौ, अरु पनि खारेज हुन सक्छन् ।’

धनकुटा–१ को जनकल्याण बचत तथा ऋण सहकारी, जनसाहारा उपभोक्ता सहकारी र मकालु चिया तथा कफी उत्पादन साना किसान सहकारी सस्था खारेज भएका छन् । धनकुटा–२ को भीरगाउँ दुग्ध उत्पादक सहकारी, मधुगंगा सुन्तले विद्युत सहकारी, नवविहानी कृषि सहकारी, धनकुटा–३ को सुगन्धित चिया उत्पादक सहकारी, धनकुटा–४ को हजुरको उपभोक्ता सहकारी र सदाबहार कृषि सहकारी खारेजीमा परेका छन् । धनकुटा–५ को क्रमिक दैनिक बचत तथा ऋण सहकारी, धनकुटा–६ को अन्नपूर्ण बचत तथा ऋण सहकारी, अर्गानिक तरकारी उत्पादन तथा कृषि पर्यटन सहकारी, धनकुटा–७ को सहयात्री कृषि सहकारी, धनकुटा–८ को टेकुनाला कृषि सहकारी, आठपहरिया कृषि सहकारी र सान्ताङ कृषि सहकारीको दर्ता खारेज गरिएको छ ।

नियम अनुसार नगरपालिकामा विवरण नबुझाएपछि त्यस्ता सहकारीलाई सम्पर्कमा आउँन पटक–पटक सूचना जारी गरिएको थियो । अन्तिम पटक गत साउन ३० गते २१ वटा सहकारीलाई सम्पर्कमा आउँन १५ दिनको म्याद दिइएको थियो । समयसीमा भित्र चार वटा सहकारी सम्पर्कमा आएर साधारण सभा गर्ने प्रतिवद्धता जनाएको र बाँकी सम्पर्कमा नआएकाले उनीहरूको दर्ता खारेज गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

ती सहकारीले तिर्नु वा बुझाउनुपर्ने दायित्व भए साविकको सञ्चालक समितिका पदाधिकारीहरूसँग सम्पर्क गरी फरफारक गरी लिन र अब उप्रान्त ती संस्थाहरूको नामबाट कुनै कारोबार नगर्नरनगराउँन पनि नगरपालिकाले सूचित गरेको छ । खारेजपछि धनकुटा नगरपालिकामा अब ५३ वटा सहकारी कायम भएका छन् । ती सहकारीको पनि अनुगमन भइरहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)