Aamsanchar

सिम्रिक साकोसको माइन्युट प्रमाणित सभा सम्पन्न पत्रकार, कर्मचारी तथा शेयर सदस्य पुरस्कृत

Author Image
शनिवार, असोज २०, २०८०

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु माझ सबै इकाईका माइन्युट पढीबाची मूल माइन्युट तयार गरेर अन्तिम माइन्युट प्रमाणित गरिएको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभा सम्पन्न गरिएको हो । सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख प्रसाईंले नेपालको सहकारी अभियानले हाम्रो समाजमा सकारात्मक आर्थिक टेवा पुगिरहेको बताइन् ।
सहकारीमार्फत् उद्योग धन्दा सञ्चालन गर्न मिल्ने गरीको ऐन र नियमावली बन्नुपर्नेमा सो हुन नसक्दा वित्तीय कारोबारमात्रै धेरै हुने गरेको स्मरण गर्दै नगरप्रमुख प्रसाईले दक्षिण कोरियामा सहकारीले मारेको फड्कोलाई अध्ययन गर्न आवश्यक भएको बताइन् ।

सिम्रिक साकोमा सक्षम सञ्चालक र लगनशील कर्मचारीहरु रहेकै कारण निरन्तर प्रगतिपथमा रहेको भन्दै नगरप्रमुख प्रसाईंले सहकारीको ऋण तिर्न पर्दैन भनी हिंड्नेहरुसँग सजग र सचेत रहन  आग्रह गरिन् ।
माओवादीको सशस्त्र युद्धको समयमा विजुलीको बिल तिर्न पर्दैन भनियो, धेरै समय बिल नबुझाए पछि तार काटियो र पछि ठूलो दण्डसहित जरिवाना बुझाएरमात्र पुनः जडान गरेको घटना स्मरण गर्न उनको सुझाव थियो ।

अन्तिम माइन्युट प्रमाणित साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले झापा जिल्लाका ५ वटा गाविसलाई कार्यक्षेत्र बनाएर २०६७ सालमा स्थापना गरिएको सिम्रिक साकोसले १३ वर्षको अवधिमा चारवटा जिल्लामा कारोबार गर्न पाउने भएको बताए । उनले ५५ जनाले सुरु गरेको संस्थामा गत असार मसान्तमा ५९ हजार २६३ जना सेयर सदस्यहरु पुर्याइएको तथा २० लाख ५० हजार शेयर पुँजीबाट कारोबार सुरु भएकोमा समीक्षा वर्षमा ३१ करोड ७६ लाख ५८ हजार ६०० रुपैयाँ पुगेको जानकारी गराए ।

कोशी प्रदेशका चारवटा जिल्ला झापा, इलाम, पाँचथर र मोरङमा कार्यक्षेत्र विस्तारित सिम्रिक साकोसले समीक्षा वर्षमा ११ दशमलव ६४ प्रतिशतले वासलात वृद्धि गरी २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँको बनाएको अध्यक्ष सुवास भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिएका हुन् ।

संस्थाले सेयर सदस्य वृद्धिमा लक्ष्यको ६५ प्रतिशत हासिल गरेको भए पनि सेयर पुँजी ७ लाख ४० हजार २०० रुपैयाँ घटेको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराइले भने, ‘शेयर रकम घटेको भए पनि निक्षेपमा राखिएको लक्ष्य ५२ दशमलव २ प्रतिशतले उपलब्धी भएको, कर्जा लगानीमा ५३ दशमलव ३९ प्रतिशतले वृद्धि गरिएको छ ।’
आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धी हासिल नभए पनि सिम्रिक साकोसले आफ्ना सबै सेयर सदस्यहरुलाई ६ दशमलव ८३ प्रतिशत अर्थाथ् १ करोड ६४ लाख ७० हजार ५५७ रुपैयाँ ४२ पैसा शेयर बोनस वितरण गर्ने अध्यक्ष भट्टराईले जनाएका छन् । संस्थामा सक्रिय कारोबार गर्ने सदस्यहरुलाई ९२ लाख ११ हजार ७२१ रुपैयाँ १५ पैसा संरक्षित पुँजी फिर्ता गरिने पनि उनले जनाए ।
सिम्रिक साकोसले पनि बाह्य कर्जालाई क्रमशः घटाउँदै लगेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा ९८ करोड ४० लाख २१ हजार रहेको बाह्यकर्जा ६ दशमलव ४१ प्रतिशतले घटाएको छ भने चालू वर्षको असार मसान्तमा ७६ करोड ४२ लाख ७२ हजारमा झार्ने लक्ष्य लिइएको अध्यक्ष भट्टराईले जनाए ।

सो माइन्युट प्रमाणित साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गर्दै कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सहकारी ऐन एवम् मापदण्ड तथा नियामक निकायको निर्देशनलाई ध्यान दिएर छानिएर आएका प्रतिनिधिहरु बीच माइन्युट प्रमाणित साधारणसभा गर्नुपरेको बताए ।
तरलता अभावको कठिन मोडमा पनि सिम्रिक साकोसले आफ्ना सेयर सदस्यहरुलाई माग गरेको समयमा बिलम्ब नगरी कर्जा उपलब्ध गराएको स्मरण गराउँदै कार्यकारी प्रमुख बस्नेतले सदस्य परिवारमा जन्मदेखि मृत्युसम्मका सुख दुखमा सिम्रिक पुग्ने गरेको पनि अवगत गराए ।

संस्थाले वितेको एक वर्षमा मात्रै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३७५ रुपैयाँ खर्च गरेको जनाउँदै कार्यकारी प्रमुख बस्नेतले साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको अंकहरु संस्थाको आधिकारिक तथ्याङ्क भएकाले सिम्रिक बुझन सजिलो हुने जानकारी गराए ।
उनले विभिन्न सहकारी संस्थाहरुको नामै लिएर अप्ठ्यारोमा परेको बेला तिनलाई बचाउनु कर्तब्य ठानेर रकम उपलब्ध गराएको जनाउँदै सिम्रिक साकोस सहकारी अभियानभित्र शुद्ध रहेको बताउँदै सहकारीका नाममा पानी मिसाएर बेच्न राखेको दूध जस्तो नभएको पनि जिकिर गरे ।

सो साधारण सभाको अवसरमा झापाका दुई क्रियाशील पत्रकारहरु लक्ष्मी उप्रेती मेचीनगर र युवराज विवश दमकलाई जनही १० हजार रुपैयाँसहित उत्कृष्ट पत्रकारिता पुरस्कार समर्पण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख प्रसाईं, संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख बस्नेतसहित अतिथिहरुले खादा ओढाएर प्रमाणपत्र र नगद प्रदान गरी सम्मान गरेका हुन् ।
यसैगरी सेयर सदस्य मित्रप्रसाद घिमिरेलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरिएको सोही कार्यक्रममा संस्थाका तीनजना शाखा प्रमुखहरुलाई जनही २० हजार रुपैयाँ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

झापा जिल्लाका २७ वटा सेवाकेन्द्रहरु मध्ये मेचीनगरको धुलाबारीमा रहेको सेवा केन्द्रका प्रमुख अञ्जु प्रधान, इलाम जिल्लाका १२ वटा सेवा केन्द्रहरुमध्ये नेपालटार सेवा केन्द्र प्रमुख तीर्थराज सुवेदी र मोरङ जिल्लाका १० वटा सेवा केन्द्रहरु मध्ये लेटाङ सेवाकेन्द्रका प्रमुख मोहन घिमिरेलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो ।

सो माइन्युट प्रमाणित साधारणसभा समारोहमा झापा जिल्ला सहकारी संघका सञ्चालक केशव बस्नेत र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले आ–आफ्ना धारणा राखेका थिए । साधारणसभा समारोहको सञ्चालन संस्थाका विभागीय प्रमुख प्रेम बस्नेत (विजय)ले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर