Aamsanchar

कात्तिक १४ गते सङ्घीय संसद्‍मा राष्ट्र सङ्घका महासचिवले सम्बोधन गर्ने

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

काठमाण्डौ – इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाइका क्रममा उहाँले नेपालको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कात्तिक १४ गते दिउँसो ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो । सङ्घीय संसद् सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको बताउनुभयो ।

महासचिव गुटेरेसले सम्बोधन गर्ने बैठकमा संवैधानिक निकायका प्रमुख, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखलगायतका विशिष्ट सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिनेछ ।

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र सङ्घको महासचिवको रूपमा दोस्रो कार्यकाल हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर