Aamsanchar

सिंहको आक्रमणबाट बच्न भागदौड गर्दा एक सयभन्दा बढी भैँसी नदीमा डुबेर मरे

Author Image
शनिवार, कार्तिक ११, २०८०

सिंहको आक्रमणबाट बच्न भागदौड गर्दा नामिबियामा कम्तीमा एक सयभन्दा बढी भैँसी नदीमा डुबेर मरेका छन् ।

नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रवार हिजो दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसी डुबेर मरेका बीबीसीमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रवार बिहानै अगाडि रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैँसीहरू भाग्ने क्रममा नदीमा डुबेका थिए ।

घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैँसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने मुयुन्डाले बताउनु भएको छ । चोबे नदीमा यसअघि पनि ठूलो सङ्ख्यामा भैँसी डुबेर मरेका हुनाले यो असामान्य घटना नभएको उहाँले बताउनुभयो ।

चोबे नदी नामिबियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैँसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ । अफ्रिकी जङ्गली भैँसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण यो निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर