




काठमाडौँ – उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन्।
हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खेतीका लागि जमिन बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन्। उनले शुक्रवार विश्व शौचालय दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुईतीनजनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालमा खाद्यान्न अपुग हुने बताइन्।

उनले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको भन्दै चिन्ता व्यक्त गरिन्।
उनले भनिन्, ‘सबैले घर बनाउँदै जाने दुईतीनजनाका लागि भने कहाँ बच्छ, सबै जंगल फाँड्छन्। खानलाई पनि पुग्दैन जस्तो लाग्छ। भारतले चिनी रोकिदिँदा सबै बाहिर जानुभयो। बालेन्द्र साहले विदेशी फूललाई बन्द गर्नुभयो तर यता नेपालीले मालाको मूल्य बढाए। कोरोनाका वेला मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे। केही गर्दा नहुने के यो देशमा, बालेन साह मेयर बनेपछि नयाँ काम शुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन्।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीले असहयोग गरेकोप्रति दुःख व्यक्त गरिन्।
यो वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने छ। यो वर्ष पनि संयुक्त राष्ट्रसंघको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ।
राष्ट्रसंघका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्।