Aamsanchar

हमासको कब्जामा रहेका विपीन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाने

Author Image
बुधवार, मंसिर १३, २०८०


काठमाडौं – हमास–इजरायल युद्धका क्रममा विद्रोही समूह हमासको कब्जामा रहेका विपीन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री एनपी साउद कतार जाने भएका छन्।

मन्त्री साउद मंसिर २३ गते कतार जान लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कतार पुगेर मन्त्री साउदले जोशीको रिहाइका लागि सम्बन्धित मन्त्रीलाई प्रत्यक्ष भेटेर कुराकानी गर्नेछन्।

कतार भ्रमण जानुअघि परराष्ट्रमन्त्री साउदले बुधबार कञ्चनपुरको महेन्द्रनगरमा जोशीका आमाबुवासँगसमेत भेट गरेका छन्। यसअघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले विपिनको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए। जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई पनि मन्त्रालयमै बोलाएर मन्त्री साउदले कुरा गरेका थिए।

हमाससँग राम्रो सम्बन्ध भएको कतार र इजिप्टले मध्यस्थता गरेका कारण अहिले दुवै पक्षले अस्थायी युद्धविराम गरी नियन्त्रणमा लिएका बन्दी रिहा गरिरहेका छन्।

कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउद दोहा २१ औं फोरममा पनि सहभागी हुने कार्यक्रम छ । उक्त कार्यक्रम डिसेम्बर १० देखि सुरु भएर दुई दिनसम्म चल्नेछ ।

भ्रमणमा फोरममा सहभागिता जनाउनुका साथै हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि उच्च प्राथमिकतामा राखेर पहल गरिने मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर