Aamsanchar

प्रधानमन्त्री दाहाल सहभागी भएको कार्यक्रममा राष्ट्रिय गान नबजाइएपछि आलोचना

Author Image
बुधवार, मंसिर २७, २०८०

परासी – प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएको एक कार्यक्रममा राष्ट्रिय गान नबजाइएपछि आलोचना भएको छ।

नवलपरासीको रामग्राम स्तूपमा आयोजित ‘विश्व शान्तिका लागि दीप प्रज्वलन’ नाम दिइएको कार्यक्रममा सहभागी हुन मंगलबार प्रधानमन्त्री दाहाल रामग्राम नगरपालिकास्थित रामग्राम स्तूपमा सहभागी हुन पुगेका थिए। उक्त कार्यक्रममा प्रधानमन्त्री दाहाललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो। हेलिकोप्टरबाट आएका प्रधानमन्त्री कार्यक्रमस्थल पुगेपछि कार्यक्रम सञ्चालकले प्रमुख अतिथिको आगमन भएको भन्दै कार्यक्रम अघि बढाएका थिए।

त्यसलगत्तै रामग्राम स्तूपसहित बुद्ध स्थलका बारेमा प्रकाश पार्न लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यलाई दिइएको थियो। कार्यक्रमको सञ्चालन पत्रकार भूषण दाहालले गरेका थिए। राष्ट्रिय गान नै सुरु नगरी कार्यक्रम अघि बढाइएपछि केहीले राष्ट्रिय गान बजाउन सुझाव दिएका थिए। तर कार्यक्रम अघि बढेको भन्दै त्यसलाई वास्ता नगरेको कार्यक्रमका एक सहभागीले बताए। कार्यक्रमको आयोजना लुम्बिनी विकास कोष र प्रोमिस ल्याण्ड नामको निजी कम्पनीले गरेका थिए। उक्त निजी कम्पनीका सञ्चालक (अध्यक्ष) प्रधानमन्त्री दाहालका घरधनी शारदाप्रसाद अधिकारीका छोरा नितेश अधिकारी हुन्।

 

स्तूपमा आयोजना गरिएको कार्यक्रम आध्यात्मिक कार्यक्रम रहेको र कसैलाई पनि अध्यक्षता नगराइएकाले राष्ट्रिय गान नबजाइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण) भट्टराईले बताए। कार्यक्रमको अध्यक्षता नगराएको बताए पनि कार्यक्रमको समापन भने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. उपाध्यक्ष ल्यारक्याल लामाले गरेका थिए।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भारतीय जनता पार्टीका नेतासहित विभिन्न देशका बौद्धमार्गी, विदेशी संस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो। प्रधानमन्त्री जस्तो सरकार प्रमुख सहभागी भएको कार्यक्रममा राष्ट्रिय गान नबजाइएको भन्दै सामाजिक सञ्जालमा त्यसको तिव्र आलोचना भएको हो। सरकार प्रमुख सहभागी भएको कार्यक्रममा राष्ट्रिय गान नबजाइनुले देश विदेशमा नराम्रो सन्देश गएको नवलपरासीका एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बताए।

‘सरकारी कार्यालयको सामान्य औपचारिक कार्यक्रममा त राष्ट्रिय गान अनिवार्य छ। विदेशी व्यक्तित्वहरुसहित सरकार प्रमुख सहभागी भएको कार्यक्रममा राष्ट्रिय गान नबजाइनु गलत हो,’ ती प्रमुख प्रशासकीय अधिकृतले भने। रामग्राम स्तूप विश्वको एक मात्र गौतम बुद्धको अस्तुधातु रहेको स्थल हो। विदेशीदाताहरुलाई यसको प्रवर्द्धन र विकासप्रति लगानी गर्ने विश्वास दिलाउन कार्यक्रमको आयोजना गरिएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर