Aamsanchar

झन्डै नौ किलोको एउटै काउली बागलुङका एक कृषकले फलाए

Author Image
आइतवार, पौष ८, २०८०

बाग्लुङ – बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा झन्डै नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका खत्री यति बेला यस क्षेत्रकै सफल किसानमा गनिनुहुन्छ । विसं २०६६ अघि ज्याला–मजदुरी गर्दै आउनुभएका खत्री कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक हुनुभएको छ ।

खत्रीले अहिले सानाठूला गरी आठ वटा प्लास्टिक टनेलमा तरकारी खेती गर्नुभएको छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण यस पटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिनुभयो ।

‘फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा झन्डै नौ केजीको रहेको पाइयो’, खत्रीले भन्नुभयो, ‘लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।’

आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीले मनमा कहिल्यै विदेश जाने योजना नआएको सुनाउनुभयो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

चाररपाँच किलोसम्मको काउली त फलेकै थिए, यस पटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा झन्डै नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउलीको तौल गरेको तस्बिर तथा श्रव्य–दृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु, खत्रीले भन्नुभयो ।

उहाँले अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको बताउनुभयो । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाउनुभयो ।

तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले झन्डै नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बाग्लुङको ठूलो प्राविधिक सहयोग रहेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर