Aamsanchar

 सरकारी स्तरबाट चिया क्षेत्रमा देखिएको समस्याको समाधान खोज्न सुरु 

Author Image
बुधवार, पौष ११, २०८०

चारपाने ।  चिया क्षेत्रको विविध समस्या बारे सरोकारवालाहरू बीच वर्षऔं देखि कयौं पटक बिचार विमर्श हुँदै आएको थियो । तर समस्या  समाधान तर्फ सरकारको ध्यान जान नसकेको भनेर चिया सँग सम्बन्धी पक्षहरूले गुनासो गरिरहेको अवस्थामा कोशी प्रदेश कृषि मन्त्रालयले चिया क्षेत्रको दिगो समस्या समाधानको उपाय खोज्ने क्रममा वृहत कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
चिया कृषक, मजदुर र उद्योगीलाई चियाबाट  आर्थिक रुपमा आत्मनिर्भर बनाउन सके देशले पनि उल्लेखनीय विदेशी रुपैयाँ भित्राउन सक्ने सम्भावना रहने ठहर गरेर आज झापाको बिर्तामोडमा कृषि मन्त्रालयले प्रमाणीकरण कार्यशाला गोष्ठी आयोजना गरेको हो । 

द ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट ९जीजीजीआई० ले नेपाल सरकारसँगको सहकार्यमा हाल चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले बिर्तामोडमा बुधवार ९आज० गोष्ठी सञ्चालन गरेको हो ।
चिया क्षेत्रको दिगोपन मूल्याङ्कन आवश्यक रहेको भन्दै जीजीजीआईले कोशी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशका चिया क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने उद्देश्यले झापामा चिया उद्योगी, व्यवसायी, किसानसँग कार्यशाला गोष्ठी गरेको हो ।

कार्यक्रममा जीजीजीआईका सिनियर अफिसर पुरुषोत्तम गुप्ताले परियोजनाको कार्य विवरण र चिया क्षेत्रमा गर्ने सहयोगका विषयमा जानकारी गराएका थिए । चिया क्षेत्रका समस्याका बारेका राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रिय कार्यालयका बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रको हालका अवस्था बताउँदै समस्या र सुधारका विषयमा बताएका थिए । एग्रिकल्चर टेक्नोलोजी सेन्टरका इशुशंकर श्रेष्ठ र अफिसर प्रशान्त राउतले चिया क्षेत्रका समस्यालाई समाधान गर्ने उपायहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चिया उद्योगीहरूले अर्गानिक उत्पादनमा जोड दिदै बजारीकरणको उचित व्यवस्थापन दिनुपर्नेमा जोड दिएका थिए । उद्योगीका समस्या समाधान गर्न सरकार समक्ष आग्रह समेत गरेका छन् । नेपालमा चियाको चिया सुरुवातको इतिहास १६० वर्ष भइसकेको छ । विश्व बजारमा नेपाली चिया उत्कृष्ट ठहरिए पनि नेपाल सरकारले चियाको प्रर्वद्धनमा ध्यान नदिदा नेपाली चियाको पहिचान विश्व बजारमा गुमनाम हुँदै गएकोमा चिया उत्पादकहरूले चिन्ता व्यक्त गरेका छन् । 

कोशी प्रदेश कृषि मन्त्रालयका सचिव लेखराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि लिङ्देनले समस्या मात्र नभएर समाधान दिनु पर्नेमा जोड दिए । उनले जहिल्यै पनि चिया क्षेत्रमा मजदुर, मल, किसान, बजारीकरणको मात्र समस्या नदेखाउन आग्रह गर्दै उद्योगीका समस्या समाधान गर्ने उपायको खोजी गरिनु पर्ने बताए ।
कार्यक्रममा चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुली, कोशी प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालालगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर