Aamsanchar

इलाम : सुन्तलाबारीमा एभोकाडो खेती गर्दै किसान

Author Image
बिहिवार, पौष १२, २०८०

इलाम – इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मेहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि इलामका किसान एभोकाडो खेतीतर्फ आकर्षित भएका छन् । माईजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । ´तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन शुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गएको वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्`, उहाँले भन्नुभयो ।

जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गर्नुभएको छ । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको यो गाउँमा अहिले सुन्तला मासिएर एभोकाडोको खेतीले कब्जा जमाउन थालेको उहाँ बताउनुहुन्छ । ´सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती शुरु गरेका छौँ, एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन हुन्छु, उहाँले भन्नुभयो, ` एउटै झ्याङमा ८० हजार रुपैयाँको एभोकाडो फलेको तथ्याङ्क छ ।`

यहाँका प्रायजसो किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ुकम स्याहारले नै उच्चतम आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।ु नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलवा कृषि कर्ममा समेत रमाउने गर्नुभएको छ । ुहामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनुपर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छु, उहाँले भन्नुभयो ।

जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गएको वर्ष चार सय १९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष चार सय २२ दशमलव पाँच मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिनुभयो । गएको वर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । ुगएको वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छु, उहाँले भन्नुभयो ।

नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माईजोगमाईका खत्रीले बताउनुभयो । यो फलबाट किसानले मनग्ये आयआर्जन गर्न थालेका छन् । एक दशक मलेसिया बसेर स्वदेश फर्किनुभएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा एकदमै फस्टाएको बताउनुभयो ।

एभोकाडो कात्तिक मङ्सिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । शुरुमा तीन सय रुपैयाँ प्रतिकिलोमा बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा अहिले दुई सय रुपैयाँ प्रतिकिलोमा यसको खरिद बिक्री भइरहेको छ । ुव्यापारीको दुस्ख छैन, बगानमै आउँछन् र एकमुस्टमा किन्छन्ु, देवानले भन्नुभयो । अहिले इलाममा उत्पादित एभोकाडो इलामको स्थानीय बजार तथा झापा तथा सुनसरीमा बिक्री भइरहेको किसान तथा निजामती कर्मचारी कृष्ण लिम्बूले बताउनुभयो । उहाँका अनुसार अहिले इलामसहित, झापा, सुनसरी काठमाण्डौलगायतका ठाउँमा यसको बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको हो ।

दिउँसो अन्यत्रै काम गरेर भए पनि बिहान बेलुकाको समय निकालेर खेती गर्न सकिने यो फल यस याममा मुख्य उत्पादन लिन सकिन्छ । दीर्घरोगीले समेत खान मिल्ने एभोकाडोको एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । शुरुमा धनकुटाबाट ल्याएर रोप्न शुरु गरिएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको छ । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ ।

दानाबाट यसको उत्पादन लिन सकिन्छ । रुखमा फल्ने यसको फल सामान्यतया दुई सय ग्रामदेखि एक किलोसम्मको हुने गर्दछ । भित्र दानो बीचमा खानयोग्य फल र बाहिर बोक्राले ढाकेको हुन्छ । त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने भएकाले पनि कृषक यस खेतीतर्फ आकर्षित भएका रोङ गाउँपालिका–५ जिर्मलेका किसान प्रेम राईले बताउनुभयो । एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ । एक रोपनीमा करिब छ वटासम्म एभोकाडो रोप्न सकिन्छ । कात्तिक महिनामा टिप्न शुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिने इलामका किसान एवं राजनीतिज्ञ देवानले बताउनुभयो । ठूला होटल, पर्यटक र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलको रुपमा उपभोग गर्न थालेको होटल व्यवसायी नवीना कार्कीले बताउनुभयो ।

यसमा भिटामिन र खनिजतत्व पर्याप्त मात्रामा पाइन्छ भने एभोकाडोको भित्री र बाहिरी भाग दुवै प्रयोग गर्न सकिन्छ । विज्ञका अनुसार, एउटा एभोकाडोमा ६४ क्यालोरी हुन्छ । यसमा छ ग्राम चिल्लो, तीनरचार ग्राम कार्बोहाइड्रेट, एक ग्रामभन्दा कम चिनी र तीन ग्राम फाइवर हुने गरेको छ । एभोकाडोमा भिटामिन ‘सी, ई, के, बी’ पाइने जनाइएको छ । राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ । साथै बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ । एभोकाडो पूर्णरूपमा स्वास्थ्यवर्द्धक मानिन्छ । यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्ने जनाइएको छ ।

इलाममा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा पुर्याउन र किसानलाई हौसला प्रदान गर्न कृषि ज्ञान केन्द्रले समन्वय गर्दै आएको छ । बिरुवा रोपेको तीन वर्षदेखि नै उत्पादन दिन शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषक यसतर्फ आकर्षित भएका ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताउनुभयो ।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर आम्दानी गर्न थालेका छन् । चार नगरपालिका र छ वटा गाउँपालिका भएको इलामका सबै पालिकामा एभोकाडोको आंशिक खेती हुन शुरु गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर