Aamsanchar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने मन्त्री किरातीकाे भनाइ

Author Image
शुक्रवार, पौष १३, २०८०

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन्।

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका हुन्।

उनले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा धेरै असहजता निम्तिने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउँदा पनि अब समयको माग अनुरुपको परिणाम दिन नसक्ने उनको भनाइ छ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताए। उनले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पिपिपी मोडलमा लाने गरी प्रक्रिया अगाडि बढाएको पनि बताए।

उनले अहिले विमानस्थलहरु घाम तापेर बस्नुपरेको बताए। त्यस्तै, दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरु पनि गौचरणको रूपमा परिणत भएको उनले बताए।

उनले भने, ‘हामीले यति ठूलो एयरपोर्टहरु बनाइसकेका छौँ। ती एयरपोर्टहरु अहिले घाम तापेर बसेको छ। दुर्गम क्षेत्रको पनि २२ वटा एयरपोर्टहरु आज गौचरणको रुपमा परिणत भएको छ। काठमाडौंकै कुरा गर्नुहुन्छ भने अब ८-१० वर्षमा काठमाडौंमा धेरै नै ठूलो असहजता हुनेछ। अहिले नै पनि हामी ४५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपर्ने जुन बाध्यता छ। जतिसुकै काठमाडौंको एयरपोर्टलाई बनाउँदाखेरी पनि यसले परिणाम अबको समयअनुसार दिन सक्दैन। त्यसकारणले यसको विकल्प हामीले खोज्नैपर्छ। यसको विकल्प भनेको निजगढ नै हो।`

मन्त्री किरातीले युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचीबाट हटाउने बताए।

उनले सो १२ बुँदाअनुरूप सच्याउनका लागि कार्यान्वयनको चरणमा अगाडि बढेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर