Aamsanchar

यू–१९ विश्वकप : नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित

Author Image
आइतवार, माघ ७, २०८०

काठमाडौँ – आईसीसी यू–१९ विश्वकप क्रिकेटको आज (आइतवार) भएको खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको छ।

न्युजिल्याण्डले जितका लागि दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३८ रनमात्र बनाएपछि ६४ रनले पराजित भएको हो।

नेपालका लागि अर्जुन कुमालले बनाएको व्यक्तिगत ९० रन नै सर्वाधिक रन रह्यो। ओपनर ब्याट्सम्यान अर्जुनले दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा ७३ बलमा ६ चौका हान्दै अर्धशतक पूरा गरे। उनले १०४ बलको सामना गरेर १२ चौका हान्दै ९० रन बनाए।

उनी ८औँ विकेटका रुपमा आउट भए। अर्जुनले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ५९ रनको साझेदारी गरे। देव ३६ रन बनाएर आउट भए। तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरे।

टिङको शुरुवातमै नेपालले झड्का बेहोर्नु पर्‍यो। रनको खाता नखोल्दै पालीको तेस्रो बलमा ओपनर दीपक बोहरा आउट भए।

आकाश त्रिपाठी छैटौँ ओभरमा म्याट रोको बलमा क्याच आउट भए। उनले १४ बल खेलेर २ रनमात्र जोडे।

विकेटकिपर ब्याट्सम्यान उत्तम थापा मगर १७ औँ ओभरको अन्तिम बलमा शून्यमा आउट भए। अलराउन्डर गुल्सन झा पनि २ रनमात्र बनाएर आउट भए।

दीपक बोहराले २७ बलको सामना गरी १५ रन हिर्काए। दीपेश कँडेल पनि ८ बल खेलेर शून्यमै आउट भए। आकाश चन्दले २६ बल खेल्दै १४ रन बनाएर आउट भए।

सुवाष भण्डारी ३३ रन र तिलक भण्डारी १७ रनमा अविजित रहे।

न्युजिल्याण्डका लागि मेसन क्लार्कले ३ विकेट‚ एवाल्ड स्रोडर र अस्कर ज्याक्सनले २र२ विकेट र म्याट रो तथा ज्याक कमिङले १र१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाएर ३०२ रन बनायो।

उसका लागि स्नेहिथ रेड्डीले अविजित रहँदै १२५ बल खेलेर १४७ रन हिर्काए। उनले आफ्नो पालीमा ११ चौका र ६ छक्का हिर्काए।

उनलाई किवी कप्तान अस्कर ज्याकसनले ८१ बलमा ७५ रन बनाएर टिमको स्कोर उकास्न मद्दत गरे। ज्याकसनले आफ्नो पालीमा ५ छक्का र ३ चौका हाने।

यसअघि लगातारजस्तै तीन विकेट गुमाउँदा संकटमा परेको न्युजिल्याण्डका लागि रेड्डी र ज्याकसनले चौथो विकेटका लागि १५७ रनको साझेदारी गरेर उकासेका थिए।

न्युजिल्याण्डले पहिलो विकेटका रुपमा ओपनर लुक वाट्सनलाई १४ रनको व्यक्तिगत स्कोरमा गुमायो। उनलाई सुवाष भण्डारीले बोल्ड गरे।

वाट्सन आउट हुँदा न्युजिल्याण्डले ५३ रन बनाएको थियो। दोस्रो विकेटका रुपमा न्युजिल्याण्डले टम जोन्सलाई ३३ रनको व्यक्तिगत स्कोरमा गुमायो।

टमलाई स्पिनर तिलक भण्डारीले बोल्ड गरे। दोस्रो विकेट गुमाउँदा न्युजिल्याण्डले ६६ रन बनाएको थियो।

तेस्रो विकेटका रुपमा ओलिभर टेवटिया शून्य रनमै पेभेलियन फर्किए। उनलाई स्पिनर दिपेश कँडेलले विकेटकिपर उत्तम रंगु थापामगरको हातबाट क्याच गराए। टेवटिया आउट हुँदा न्युजिल्याण्डको स्कोर ६७ रन बनाएको थियो।

नेपालका लागि सुवास भण्डारीले ३ विकेट, गुल्सन झाले २ विकेट र दिपेश कँडेल, तिलकराज भण्डारी तथा आकाश त्रिपाठीले १र१ विकेट लिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)