Aamsanchar

विद्युत् खपत बढाउनुपर्नेमा मन्त्री शक्तिबहादुर बस्नेतकाे जोड

Author Image
बिहिवार, माघ ११, २०८०

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् ।

विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौँ वार्षिक उत्सवको अवसरमा ‘बढाऔँ विद्युतीय चुल्होको प्रयोग, पुर्‍याऔँ स्वास्थ्य सुधारमा सहयोग’ भन्ने सन्देशसहित विद्युतीय चुलोसम्बन्धी आज ललितपुरमा आयोजित छलफलमा मन्त्री बस्नेतले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले विद्युतीय चुलो हरेक नेपालीका लागि उपयोगी छ भने। देशको समृद्धिको आधार जलविद्युत् भएकाले अधिकभन्दा अधिक ऊर्जा उत्पादनलाई सरकारले जोड दिएको बताए।

ऊर्जामन्त्रीले राष्ट्रिय चुलो अभियानलाई सफल बनाउन निजी क्षेत्रलाई पनि अनुदान र सहुलियत दिएर सहभागी गराउनुपर्ने बताए । उनले जलवायु परिवर्तनका असर र त्यसबाट कृषि क्षेत्रमा परेको प्रभावबारे सबै पक्ष गम्भीर हुनुपर्छ भने।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आगामी आर्थिक वर्षदेखि सुरु हुने १६ औं आवधिक आयोजनामा विद्युतीय चुलोको प्रयोग बढाउँदै एलपी ग्यासको आयात प्रतिस्थापन गर्ने तर्फ सरकारको ध्यान केन्द्रित हुने बताए ।

सामुदायिक विद्युत राष्ट्रिय उपभोक्ता महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले २०७५ माघ ११ गते शुभारम्भ भएको यो अभियानलाई सफल र सार्थक बनाउन विभिन्न सङ्घसंस्थासँग मिलेर आफूहरूले काम गरिरहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर