Aamsanchar

नाटक रिफण्डको कथा, शैक्षिक योग्यताको प्रमाण पत्र पाएका किन बेरोजगार ?

Author Image
बुधवार, माघ १७, २०८०

बिर्तामोड । झापाको बिर्तामोड स्थित झापा नाटक घरमा दैनिक मञ्चन हुँदै आएको नाटक रिफण्डको कथा वस्तुले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई झस्काई दिने गरेको छ ।

वर्तमान अवस्थामा नेपालको शिक्षा नीति, शिक्षकको कार्यशैली र विद्यार्थीको सिकाइलाई तिखो रुपमा व्यङ्ग्य प्रहार गरेको छ । नाटकका कलाकारहरूले गरेको अभिनय जीवन्त रहेको छ ।

कथा अनुुसार विद्यालयका एक विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र लिनुहोस्, मैले पढ्दा लागेको खर्च फिर्ता दिनुहोस् भनेर गरेको प्रश्नले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुमा आई परेको कठिन परिस्थितिलाई कलाकारहरूले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् ।

नाटकले दिन खोजेको सन्देश भने विद्यार्थीको हातमा शैक्षिक योग्यताको प्रमाण पत्र छ तर व्यवहारिक ज्ञान सीप नभएको कारण बेरोजगार छ ? भन्ने कुरा पुष्टि गर्न खोजेको छ ।
माघ १० गतेबाट मञ्चन हुन सुरु भएको नाटक रिफण्ड प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक हो ।

मोरङ्ग विराटनगरको नाम्लो नाट्य समूह, झोराहाट नाट्य समूह र झापाको क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा उक्त नाटक मञ्चन भइरहेको  प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता तथा परिकल्पनाकार, रङ्गकर्मी माधव कल्पितले बताए ।

उनका अनुसार यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा समावेश भएको कारण नाटक विद्यार्थी, शिक्षक तथा अभिभावक सबैले हेर्नुपर्ने हुन्छ ।

सुदिपजंग कार्कीको निर्देशन रहेको नाटकमा सुरज माझी, दिक्षा चौधरी, वन्वो सन्तोष, प्रज्वल भट्टराई, प्रदिप दाहल, विवेक मिश्र र निर्देशक कार्कीको मुख्य अभियन रहेको छ ।   नाटकमा लाइट संयोजन सुशील कार्कीले गरेका छन् भने म्युजिक संयोजन सञ्जय मुडियारी गर्दै आएका छन् ।

दैनिक  मञ्चन गरिदै आएको नाटक हेर्न दिउसो विद्यार्थी वर्गको बाक्लो उपस्थिति रहदै आएको छ भने बेलुका ४ः३० बजेको मञ्चनमा स्थानीय अभिभावक वर्गहरूको उपस्थिति रहँदै आएको छ ।

सडकमा १५ रुपैयाँको १ थान इँटा मागेर विगत ४ वर्ष अघिबाट बहुजातीय सांस्कृतिक संग्रहालय सहित झापा नाटक घर निर्माण कार्यमा जुटेको प्रतिष्ठानले हालसम्ममा २ करोड ७३ लाख ६० हजार मूल्यबराबरको नाट्य कला मन्दिर निर्माण गरिसकेको र कोशी प्रदेशकै पहिलो बहुजातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि १ सय ४५ धुर जमिन जुटाउन सफल भएको छ ।

झापा नाटक घरमा पहिलो पटक यो नाटक मञ्चन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर