Aamsanchar

अन्तरर्वार्ता : पशुपालनलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी निकायको लगानी आवश्यक छ– सुमन ढकाल

Author Image
बिहिवार, माघ १८, २०८०

सबै भन्दा ठुलो जिल्ला डोल्पामा, त्यसमा पनि सडक यातायातसँग सबै ठाउँ नजोडिएको क्षेत्रका साथै हिमपातले गर्दा आधा वर्ष हैरानी खेप्नुपर्ने उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा संघीयता पछि विकासका कामहरुले गति लिएका छन् । स्थानीय सरकारको सहभागिता गाउँ ,गाउँमा भएका कारण आफ्ना कुरा राख्न सदमुकाम दुनै आइरहनु पर्ने बाध्यता हटेको मात्र छैन । आफैँ सहभागी भएर योजना बनाई आफैले गाउँको मुहार फेर्ने अवसर पनि सिर्जना भएको छ । पालिकाभरिका अधिकांश ठाउँमा न्यूक्ति भएर आएको छोटै समयमा पुगेर अध्ययन गरेका शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालसँग  हेमन्त केसीले गरेको कुराकानी :

उपल्लो डोल्पा पर्ने शे फोक्सुण्डो गाउँपालिका भित्रका मुख्य समस्य के हुन ?

डोल्पा जिल्ला नेपालको अति दुर्गम जिल्लामा दर्ज हुने जिल्ला हो । माथिल्लो डोल्पा झनै दुर्गम स्थान मध्येमा पर्दछ। शे–फोक्सुण्डो गाउँपालिकाको उत्तरी सिमाना तिव्वतसँग जोडिएकोछ। जिल्ला सदरमुकामबाट पालिका केन्द्र पुग्न ४ देखि ५ दिन समय लाग्छ।संघीयता आउनुपूर्वको अवस्थासँग तुलना गर्ने हो भने हालको अवस्थामा विकासका कार्यहरु धेरै भएका छन्। उदाहरणका लागि साल्दाङ भिजेर सडक योजना क्रमागत बहुबर्षीययोजना हो। यस योजनाको डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको सिमाना ‘सिमेन’ देखि गाउँपालिका केन्द्र साल्दाङ सम्म एक खण्ड र साल्दाङ देखि काराङ गाउँसम्मको अर्को खण्ड दुई खण्डको निर्माण कार्य सम्पन्न भईसकेको छ।यो सडक गाउँपालिकाको मूख्य सडक हो। वडा नं. ४,६,७ लगायतका समुदायहरूमा सौर्य मिनिग्रेट जडान गरी विद्युत वितरण भएको छ।केही वडाहरू बाहेक सबै वडाहरूमा खानेपानी योजनाहरू सम्पन्न भएका छन् एक घर एक धारा वितरण गरिएको छ। त्यस्तै सिंचाई योजनाहरू निर्माणको क्रम जारी छ।त्यस्तै विभिन्न स्वास्थ्य संस्था भवन, विद्यालय भवन, झोलुंगे पुल, ट्रस ब्रिज, गोरेटो बाटो, घोडेटो बाटो, पर्यटन पदमार्ग लगायतका पूर्वाधारहरू निर्माण भएका छन्।

कठिन भूगोलका साथै हिमपातले त्यहाँ कस्तो असर गर्छ ?

भूगोल अत्यन्तै कठिन छ। सदरमुकामबाट पालिका केन्द्र पुग्ने सडक संजाल छैन। पैदल हिड्नुपर्ने बाध्यता छ। पालिका केन्द्र पुग्न सदरमुकामबाट ४ देखि ५ दिनको पैदल यात्रा गर्नुपर्दछ।फेरी गाउँपालिका अत्यन्तै ठूलो क्षेत्रमा फैलिएको छ। बस्तीहरू टाढा टाढा छन्।कतिपय वडाहरूमा एक वडा बाट अर्को वडासम्म पुग्न २ दिन सम्म पनि लाग्ने अवस्था छ। कठिन, भिरालो भूगोल तथा अप्ठ्यारा भीरहरूले गर्दा सडक निर्माणमा, खानेपानी तथा सिंचाई पूर्वाधार निर्माणमा समस्या छ। ठूलो मात्रामा लगानी लाग्ने र गाउँपालिकासँग आन्तरिक स्रोत कमजोर भएकाले त्यस्ता ठूला विकास निर्माणका कार्यहरू गर्न सकिएको छैन।

कर्मचारीहरु फिल्डमा खटिएर काम गर्न भारी चुनौती रहेको सुनिन्छ नि ?

शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं. ०८ र ०९ को केही भुःभाग बाहेक सबै भुःभाग ३८०० ,४००० मीटरभन्दा माथिको उचाइमा अवस्थित छ। प्रायाःजसो कार्तिक महिनाको अन्तिम तिरबाट हिमपात शुरु हुन्छ। यो हिमपातको क्रम फागुन महिनाको अन्तिमसम्म रहीरहन्छ। क्रमिकरुपमा हिमपात भईरहनाले हिउँको मात्रा बढ्दै गई कतिपय समयमा ३ फिटसम्म समेत पुग्ने गर्दछ। त्यसले गर्दा हिउँदको समयमा विकास निर्माणका कार्यहरू ठप्प हुन्छन्। सिमेन्टजन्य निर्माण कार्यको लागि अनुकुल समय भनेको बैशाख देखि असोज सम्म मात्रै हो। बाँकि समयमा हिमपात र अत्यन्तै चिसोका कारण विकासका कार्य गर्न सम्भव हुँदैन।त्यस्तैहिउँदको समयमा यस क्षेत्रका धेरैजसो मानिसहरू केही समयको लागि काठमाडौँ, नेपालगञ्ज, जिल्ला सदरमुकाम लगायतका स्थानमा स्थानान्तरण हुन्छन्। गाउँमा सिमित मानिसहरू मात्रै बसोबास गर्दछन्। न कुनै हिउँदे खेति हुन्छ, न त पशुचौपायाहरूले चर्न पाउँछन्। हिउँदको समय निकै कष्ठकर छ।

सबै ठाउँमा स्वास्थ्य सेवा पुग्दैन, चिसो मौसममा बन्द नै हुन्छ भन्ने गुनासो छ नि ?

कर्मचारीहरूका सन्दर्भमा कुरा गर्ने हो भने यहाँ बर्षभरी निरन्तर विकासको काम हुन सक्दैन। चिसो मौसममा हिमपात भएपछि विकास निर्माणका कुनै पनि ठुला योजनाका कार्यहरू सम्भव हुँदैन। काम हुने भनेको हिमपात नहुन्जेल सम्म मात्रै हो।विशेषगरीप्राविधिक कर्मचारीहरू योजनाका कार्यहरू संचालन रहेसम्म फिल्डमा जानैपर्ने हुन्छ। सो बाहेक अन्य कर्मचारीहरू जस्तै पशु शाखा, कृषि शाखा, महिला तथा वालवालिका शाखा, स्वास्थ्य शाखा लगायतका कर्मचारीहरू सबै समय फिल्डमा गईरहनुपर्ने अवस्था हुँदैन। कुनै कार्यक्रम, अभियान, सिविर संचालन, अनुगमन मुल्यांकन लगायतका सिलसिलामा मात्रै फिल्ड गए पुग्छ अन्य समय सम्बन्धित शाखामै रहेक कार्य संचालन गरे भईहाल्छ। जुन जुन समयमा विकास निर्माणका कार्यहरू सुचारु हुन्छन् सोही समयमा मात्रै प्राविधिक कर्मचारी, अनुगमन समितिका पदाधिकारीहरू फिल्ड जाने हो। स्वास्थ्य संस्थामा भने स्वास्थ्यकर्मीहरू अनिवार्य रुपमा बसिरहनुपर्ने हुन्छ।

भौगोलिक विकटताले फिल्डमा ओहोरदोहोर गर्न भने साह्रै सकस छ। एक वडा बाट अर्को वडासम्म जान २–३ दिनसम्म लाग्ने ठाउँहरू पनि छन्।सडक संजालको अभावले यातायातको सुविधा छैन। सजिलोमा घोडाहरूका माध्यमबाट यात्रा गर्न पाइन्छ त्यो बाहेक सबै पैदल नै यात्रा गर्ने हो। स्वास्थ्य क्षेत्रमा पूर्वाधारको कुरा गर्ने हो भने गाउँपालिकाको सबै वडाहरूमा स्वास्थ्य संस्था ९अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकी/इकाइ/सेवा केन्द्रहरुको विकास भईसकेको छैन। हाल भूगोल र जनसंख्यालाई मध्येनगर गर्दै विभिन्न समुदायहरूको पायक पर्ने स्थानमा ३ वडा स्वास्थ्य चौकी संचालित छन्। अन्य स्वास्थ्य संस्थाहरू निर्माणका क्रममा छन्। गाउँपालिकाको ५ सैया अस्पताल निर्माणको योजना स्विकृत भइसकेको छ,जग्गा प्राप्ति भईसकेको छ तर स्रोत सुनिश्चितता नभएका कारण सो योजना हालसम्म अघि बढ्न सकेको छैन। दुर्गम क्षेत्रको स्वास्थ्य सेवाको विषय अत्यन्तै संवेदनशील रहेकोले यसमा सरकारले उचित ध्यान दिनुपर्दछ।

त्यस्तै सेवाको कुरा गर्ने हो भने हाल भएका स्वास्थ्य संस्थाहरूमा लगभग सबै दरबन्दीमा पदपूर्ति भएको छ। स्वास्थ्यकर्मीहरू निरन्तर सेवा दिईरहेका छन्। समयसमयमा विभिन्न खोप अभियान, स्वास्य्य शिविर संचालन गर्ने गरिएको छ। हिमपात भई मानिसहरूको ओहोरदोहोरको क्रम नै रोकिने स्थिति आएको खण्डमा बाहेक सबैजसो समयमा स्वास्थ्य संस्थाहरू संचालित छन्। हिमपातले मानिसहरुको आवतजावत बन्द भएको अवस्थामा स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा उपलब्ध गराईएको छ। माथिल्लो डोल्पा जस्तो अति दुर्गम क्षेत्रमा समेत स्वास्थ्यकर्मीहरूलाई उचित प्रोत्साहन प्रदान गर्न नसकेका कारण कर्मचारीहरू निरुत्साहित छन् । दुर्गम क्षेत्रको स्वास्थ्य सेवालाई दिगो, सहज, सुलभ र पहुँचयोग्य बनाउन त्यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको उचित प्रोत्साहनमा समेत सरकारले सोच्नुपर्दछ।

अहिले विनियोजित हुँदै आएको बजेट त्यहाँका लागि पर्याप्त हो कि होइन ?

पालिकाको चालु आर्थिक वर्षको कुल बजेट अनुमान करिब ३५ करोड मात्रै छ।तर पालिकाको बहुआयामिक क्षेत्रको विकास र प्रवर्धनका लागि ठूलो बजेट खर्चिनुपर्ने अवस्था देखिन्छ। सदरमुकामसँग सडक संजालमा जोडिएको छैन, यो सडक संजालको लागि मात्रै हेर्ने हो भने पनि पालिकाको सम्पूर्ण बजेट अनुमान सो योजनाका लागि आवश्यक बजेटको केही अंशमात्रै हुन आउँछ। भौगोलिक विकटताले गर्दा साना साना विकासका योजनाहरूमा पनि ठूलो धनराशी खर्च हुन्छ।विकास गर्नुपर्ने क्षेत्रहरू बहुआयामिक छन्। सडक, भवन, कृषि तथा पशु क्षेत्र विकासका कार्यक्रम, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, उद्योग, पर्यटन पूर्वाधार, क्षमता विकासका कार्यक्रम, स्वास्थ्य, पोषण लगायतका सम्पूर्ण बहुआयामिक क्षेत्रहरूको विकासका लागि हाल विनियोजित हुने गरेको बजेट धेरै नै अपर्याप्त छ। अहिले सबै शीर्षकमा सानो सानो बजेट अंक वितरण हुने गरेको छ। पालिकाको आन्तरिक स्रोत कमजोर छ, केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत अत्यन्तै न्यून छ। केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गर्दा सुगम दुर्गमको ख्याल नगरी सबै क्षेत्रलाई समान रुपमा हेरी बजेट विनियोजन गरेको छ तर सुगममा १ करोडमा लागत इस्टिमेट भएको कार्यको यहाँको लागत स्टिमेट ३÷४ करोडसम्म हुन्छ। त्यसैले भौगोलिक विकटता समेतलाई मध्येनजर गरी लागत स्टिमेट बमोजिम बजेट विनियोजन गरिनुपर्ने हो, त्यसो भएको छैन। दुर्गम र सुगमलाई समान दृष्टिकोणबाट हेर्ने र सोच्ने गरिन्छ, वास्तविक धरातल भने विलकुलै फरक छ। तसर्थ हाम्रो विकास नीति र स्रोत विनियोजनमा सकारात्मक विभेद आवश्यक छ।सम्भावनाका क्षेत्र प्रसस्तै हुँदा हुँदै पनि सोको उपयोग हुन नसक्नु राज्यको समान विकास नीतिकै उपज हो। दुर्गमलाई विशेष दृष्टिकोणबाट हेरिनुपर्दछ।

शे फोक्सुण्डोको भारी सम्भावना के मा छ ?

यहाँको मूख्य सम्भावनाको केन्द्रबिन्दु भनेको प्रशिद्ध फोक्सुण्डो ताल नै हो। यस ताललाई कर्णालीको मूख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकियो भने यसले राम्रो बेनिफिट दिन्छ। एकातिर ठूलो सँख्यामा पर्यटकहरु भित्रन्छन् अर्को तिर त्यस फोक्सुण्डो क्षेत्रका होटेल व्यवसायहरु फस्टाउँछन्, रोजगारी बढ्छ, सँग सँगै स्थानीय उत्पादनले बजार समेत पाउँछ। अर्को पर्यटनको गन्तव्य भनेको शे गुम्बा हो। प्रत्येक १२ बर्षमा शे–मेला लाग्छ। धार्मिक पर्यटनको हिसाबले यो उच्च सम्भावना बोकेको सम्पदा हो। त्यस्तै थासुङ छोलुङ गुम्बा, चार ताल, सुलिगाड झरना लगायत थुप्रै प्राकृतिक तथा धार्मिक सम्पदाहरु समेतले पर्यटकीय सम्भावना बोकेका छन्।
अर्को सम्भावनाको क्षेत्र भनेको पशुपालन हो। यो क्षेत्र भेडा, च्याङ्ग्रा र चौरीको लागि उपयुक्त छ। त्यसैले पशुहरुको पालनलाई व्यवसायीक बनाउने, छुट्टा छुट्टै पकेट क्षेत्र निर्धारण गरि सरकारी तथा गैह्रसरकारी क्षेत्रसमेतबाट लगानी केन्द्रित गरेर स्थानीयलाई पशुपालनमा प्रोत्साहन दिने हो भने ठूलो मात्रामा अर्थोपार्जन गर्ने माध्यम बन्न सक्छ।

त्यस्तै जडिबुटी लाई अर्को मूख्य सम्भावनाको क्षेत्र मान्न सकिन्छ। अहिले यार्चागुम्बा संकलन र बिक्रीवितरण यहाँका जनताको मूख्य आयास्रोत हो। यहाँ यार्चागुम्बाको घरेलु खेतिको समेत सम्भाव्यता छंदैछ त्यसर्थ यसलाई आधुनिक उन्नत प्रबिधी र उत्पादन बिधिको विकासबाट घरेलु रुपमा खेती गर्न सक्नेहो भने यसले प्रदान गर्ने आर्थिक लाभ अनपेक्षित नै रहने देखिन्छ।

त्यसतर्फ कुनै दिगो सोच र नीति हालसम्म आकर्षित भएको पाईदैन। एकातिर पालिकाको आन्तरिक स्रोत कमजोर भएकोले आफूले यस प्रकारका नीतिगत कदम चाल्न सम्भव नहुने अर्कोतर्फ प्रदेश र संघीय सरकारसँग गरिएको अपेक्षा पनिपुरा नहुने वा माथिल्ला तहका सरकारहरूले यसतर्फ ध्यान नदिने हुँदा यहाँका सम्भावनाहरूको उपयोग हुन नसकेको अवस्था छ।

तपाईँले काम गर्दा भोगेका समस्याहरू के के छन ?

म पालिकामा हाजिर भएको साढे चार महिना भयो। हाजिर भएलगत्तै शुरुमै गाउँपालिकाका सबै वडाहरूमा बस्तिहरूमा पुगेर हेर्दा जटिल समस्या भनेको भूगोल नै रहेछ। पालिकाका सबैजसो वडाहरूमा पुगी जनताहरूसँग भेटघाट र उपभोक्ता समितिहरूलाई अभिमुखीकरण गर्दा झण्डै एक महिना लाग्यो।एकातिर ४००० मिटरभन्दा माथिका धेरै जसो हिमालहरू पार गर्दै पैदल यात्रा गर्नुछ भने अर्को तिर हाइ अल्टिच्यूड सिकनेसको जोखिम उत्तिकै छ। कतिपय वडाहरूमा हालसम्म संचारका कुनैपनि माध्यम संचालित छैनन्। मोबाइल नेटवर्कको पहुँच छैन न कुनै इन्टरनेटको प्रबन्ध।ति बस्तिहरूको दैनिकी वि।सं। २०५० को दशकको भन्दा फरक पाईंदैन।

यहाँको अर्को समस्या भनेको आर्थिक वर्षको हो।यहाँको विकासको कार्यक्रम भनेको संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, विशेष र समानिकरण अनुदान बाट नै संचालित हुने हो ।श्रावणबाट आर्थिक वर्ष शुरु हुन्छ, शुरुका २÷३महिनाभन्दा बढी खरिद प्रक्रिया अघि बढाउँदै जान्छ। मंशिर पछि प्रायः हिमपात शुरु हुन्छ। हिमपात शुरु भएपछि सबै विकासका कार्यहरू रोकिन्छन्। चैत्रको अन्ततिर गएर मात्रै पुनः विकासका कार्यहरू सुचारु हुन्छन्।विकासका कार्य गर्ने समयावधि जम्मै ५÷६ महिनाको हुन्छ।संघ र प्रदेशबाट प्राप्त भएको सशर्त÷ विशेप÷समपुरक अनुदान असार मसान्त सम्म खर्च गर्न नसके फ्रिज गईहाल्छ। पुनः सोही योजना सोही कार्यक्रमका लागि उक्त अनुदान प्राप्त हुन सक्दैन।पालिकाको आन्तरिक स्रोत समेत न्य’न भएकोले पालिकाले आफूले त्यो दायित्व वहन गर्न समेत सक्दैन।त्यसैले शे–फोक्सुण्डो गाउँपालिका जस्ता उच्च हिमालि क्षेत्रका स्थानीय तहहरूको लागि आर्थिक वर्ष पौष देखि मंशिर मसान्तसम्मको अवधिलाई निर्धारण गरिनुपर्दछ।त्यसो गर्दा मात्रै यस क्षेत्रको लागि अनुकुल आर्थिक वर्ष कायम हुने थियो।सरकारले यसतर्फ समेत विचार गर्नुपर्ने आवश्यकता छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर