Aamsanchar

‘महाजात्रा’ गराउँदै हरिवंश

Author Image
शुक्रवार, माघ १९, २०८०

काठमाडौं । फिल्म ‘महाजात्रा’ को सार्वजनिक पहिलो पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई शृङ्खलाका तीन कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रवीन्द्र झाले बन्धक बनाएका थिए । ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्विलचेयरमा लागिरहेका थिए । यद्यपि निर्माण टिमले सार्वजनिक गरेको नयाँ पोस्टरमा भने अभिनेता आचार्यको कारणले तीन युवा फडिन्द्र, जोएश र मुन्नाको हातमा हतकडी छ ।

अर्थात् अभिनेता आचार्यले यसपटक ‘महाजात्रा’ गराइरहेको प्रष्ट सङ्केत पोस्टरले गरेको छ । फिल्मका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले फिल्मको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको जानकारी दिए ।

‘पोस्टरमा देखिएका पात्रले यसको कथासार झल्काउँछ । पृष्ठभूमिमा हरि दाइ नेताको भूमिकामा हुनुहुन्छ भने हामी तीनको हातमा हतकडी छ । यसले धेरै तथ्य सङ्केत गरेको छ’, अभिनेता बानियाँले भने । फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको छ ।

निर्देशक प्रदीप भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् यसमा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । नेपालमा यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ ।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फिल्ममा समावेश प्रमोसन गीत ‘क्या राम्रो हाम्रो जोडी ।’ मा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिएकाछन् । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो हाम्रो जोडी ।’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

यसमा जित बहादुर रुवाली एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)