Aamsanchar

बिर्तामोड खानेपानीले अब जार र बोटलमा पनि पानी बेच्ने 

Author Image
शनिवार, माघ २७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड सना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अब धारा मार्फत मात्र नभएर जार बोतल मार्फत पनि पानी बिक्री गर्ने योजना बनाएको छ ।
बजारमा कतिपय उद्योगले शुद्धिकरण गरेर बिक्री गर्दै आएको पानीको गुणस्तर बिर्तामोड खानेपानीको राम्रो भएकाले उपभोक्ताको मागलाई ध्यानमा राखी संस्थालाई आर्थिक रुपमा माथि उठान प्रशोधित पानीलाई चिस्यान गरि बजारमा उपभोक्ताहरूको हातहातमा पुर्याउने संस्थाको भावी योजना रहेको आज आयोजित २१ औं साधारणसभामा वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ । 

संस्थाको नीति तथा कार्यक्रममा पाइप लाइन विस्तार, पुरानो पाइप लाइनमा नयाँ पाइप नेटवर्किङ गर्ने, खानेपानीको महसुल समायोजन गर्दे लाने, संस्थाको गतिविधिलाई डिजिटल प्रणालीमा लैजाने, पानीको माग बढेकाले बसपार्क क्षेत्रमा एउटा ओभरहेड टङ्की निर्माण गरी अत्याधुनिक डिप बोरिङ जडान गर्ने, सेवा पुर्याउन नसकेको बिर्तामोड क्षेत्रका सबै स्थानमा पानी वितरण सेवा विस्तार गर्ने, संघ संस्थाहरूसँग को सहकार्यमा सार्वजनिक धारा जडान गर्ने, बिर्तामोड ३ स्थित सैनिक मोड, विराटपोखर क्षेत्रमा जग्गा खोजी गरि अर्को योजना निर्माण गर्ने, हाललाई बिर्तामोड मुक्तिचोकमा वाटर एटिएम स्थापनामा लागि सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने लगायत २१ वटा भावी योजनाहरू संस्थाले अघि सार्ने भएको छ ।

‘स्वच्छ गुणस्तरीय खानेपानीको उपलब्धता, बिर्तामोड खानेपानी उपभोक्ता संस्थाको प्रतिवद्धता’ भन्ने मूल नारा लाई आत्मसाथ गर्दै संस्थाको निर्माण, सञ्चालन एवम् पुन निर्माण सञ्चालनमा सहयोग पुर्याउन संस्थाका अध्यक्ष मेघराज बास्तोलाले सबै समक्ष अनुरोध गरेका छन् ।

यस अघि संस्थाले खानेपानी वितरण प्रणालीलाई द्रुत गतिमा अघि बढाउने उद्देश्यले १४ करोड ऋण लिएर विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हाल संस्थाले उक्त ऋण तिर्दै आउँदा अब ८० लाख मात्र ऋण तिर्न बाकी रहेको र उक्त बाकी ऋण पनि आगामी वर्ष सम्ममा तिरी सकेर उपभोक्तालाई सुलभ मूल्यमा पानी वितरण गर्ने बताइएको छ ।

संस्थाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअनुसार ७ करोड ६३ लाख ७ हजार २४१ रुपैयाँ आम्दानी गरेको र कुल आय मध्येबाट ४ करोड ३४ लाख ५९ हजार ४९९ रुपैयाँ खर्च गरेर १ करोड ६३ लाख ९८ हजार ७७२ रुपैयाँ बैंकमा मौजात रहेको कोषाध्यक्ष शारदा रिजालको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षतामा आयोजित २१ वार्षिक साधारणसभामा राष्ट्रियसभा सदस्य सांसद गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।    

सभा उद्घाटन सत्रमा संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर निवर्तमान प्रमुख ध्रुुब कुमार शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । सबै अतिथि वक्ताहरूले बिर्तामोड खानेपानी उपभोक्ता समितिले गर्दै आएको कामको प्रशंसा गरेको संस्थाका सहायक व्यवस्थापक खड्गराज गिरीले जानकारी दिए ।

पहिलो सत्रको कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले  गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर