Aamsanchar

बिर्तामोडको एक कार्यक्रममा सहभागीहरू हास्ने, चिच्याउने, सुकसुकाउने र भावुक बनेका थिए !

Author Image
शनिवार, माघ २७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा एक कार्यक्रममा उपस्थित व्यक्तिहरू छिन छिनमा हास्ने, घरी घरी  सुकसुकाउने, एकछिन चिच्याउने, अनि बेला बेला मौन बन्थे । यसरी एउटा कार्यक्रममा तिनै व्यक्तिहरूले विभिन्न मानवीय स्वभाव प्रर्दशनी गर्दा कसैले आफूलाई अर्ध र कसैले पुरै पागल भएको अभिव्यक्ति पनि दिएका थिए ।
वास्तवमा उनीहरू कुनै स्वास्थ्य अस्वस्थको कारणले त्यस्तो गरेका भने थिएनन् । गजलको संसारमा डुब्दा उनीहरूमा त्यस्तो भाव झल्किएको थियो । श्रोता सहभागीहरू गजलका शब्द अनुसार वा वा भन्दै हास्ने , चिच्याउने, सुकसुकाउने र भावुक बनेका थिए ।

आज (शनिबार) नेपाल गजल प्रतिष्ठानको आयोजनामा आयोजित ‘गजल मुशायरा’ मा सहभागी गजलकारहरूले वाचन गरेको गजल सुनेर श्रोताहरू दंगदास बनेका थिए ।

दिउसो २ बजे बाट वाचन सुरु भएको ‘गजल मुशायरा’ बेलुका ६ बजे सम्म लगातार सञ्चालन भएको थियो । सङ्गीतको तालमा  वाचन भएका गजलहरूले झापामा गजलको  क्षेत्रमा नयाँ आयाम थपिएको उपस्थितहरूको भनाई रहेको छ ।

झापा र देशका विभिन्न जिल्ला र राजधानी काठमाडौंबाट आएका गजल उस्तादहरूले गजल वाचन गरेका थिए । गजलकारहरू जीवन काश्यप, राधा कडेल, सुरेश सुवेदी, दृष्यन्त भट्टराई, रश्मि असफल, घनश्याम पथिक, दीप प्रदिप, गीता सुवेदी नेपाल, जानुका गुरागाईँ, मिलनकुमार ढुंगाना, टीका खड्का राष्ट्रप्रेमी, भोजराज घिमिरे, अनजान यात्री, आँचलकुमार शर्मा, भुवन निस्तेज, प्रदिपकुमार मैनाली, लालकाजी श्रेष्ठले गजल वाचन गरेर सबैलाई मन्त्रमुक्त गराएका थिए ।

त्यसैगरी सहभागी तर्फबाट गजलकारहरू युवराज खतिवडा, विजय योजित, खगेन्द्र दाहाल र आयोजक तर्फबाट भोजराज घिमिरेले गजल वाचन गरेका थिए ।

गजललाई मिठास दिन प्रत्यक्ष वाद्यवादनको पनि व्यवस्था गरिएको थियो । गजल मुशायरा’ मा विजय दङ्गालले गजललाई गायनको माध्यमबाट प्रस्तुत गरेका थिए । वाद्यवादन तर्फ  दिनेश घिमिरेले तबला र लक्ष्मण ओलीले गितार बजाएका थिए ।

अन्तर्राष्ट्रिय नेपाली गजल समाज, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्सको सहकार्य रहेको थियो ।

नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा गजल वाचन तथा कार्यक्रमको सञ्चालन झापाली गजलकार खगेन्द्रा खुशीले गरेको वीरता रिडर्सका अध्यक्ष तीर्थ सिग्देलले जानकारी दिए ।

गजल मुशायरा गजल भित्रको एक विधा रहेको र यस विधा पछिल्लो समययता श्रोताले धेरै मन पराउने गरेकाले झापामा गजल मुशायरा आयोजना गरिएको सिग्देलले बताए ।

कार्यक्रमका लागि ग्लोबल आइएमई बैंक, एक्सल बैंक, बेल्स मोडल स्कुल लगायत संस्थाहरूले प्रायोजन गरेका थिए । कार्यक्रमको ट्राभल पार्टनर सनराईज ट्रान्सपोर्ट एण्ड टुरिष्ट सर्भिस, अनलाईन पार्टनर साहित्यपोष्ट र मिडिया पार्टनर इ-खवरपाटी रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर