Aamsanchar

राष्ट्रपतिद्वारा शालीनदीमा पूजा अर्चना

Author Image
आइतवार, फागुन ६, २०८०

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौको शङ्खरापुर नगरपालिकामा रहेको शालीनदीमा पुगेर श्री स्वस्थानी र माधवनारायणको पूजा अर्चना गर्नुभएको छ ।

पौष शुक्ल पूर्णिमादेखि चलिरहेको मेलामा राष्ट्रपति पौडेल आज बिहान सहभागी हुनुभएको हो । उहाँले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम् पूजा अर्चना गर्नुभयो ।

नगरपालिका एवम् काठमाण्डौ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता गौतमको निमन्त्रणमा साँखु पुग्नुभएका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुशीको विषय भएको बताउनुभयो । उहाँले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्त्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम् ऐतिहासिक महत्त्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सांसद, मेयर र उपमेयरलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभएको थियो । उहाँहरूले राष्ट्रप्रमुखको भ्रमणपछि पुनर्निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर