Aamsanchar

मिसन ८४ सफल बनाउने नेतृत्व छान्न ओलीको आग्रह

Author Image
आइतवार, फागुन ६, २०८०

कैलाली – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको कैलाली जिल्ला अधिवेशन आइतवार उद्घाटन गर्दै पार्टीको मिसन ८४ सफल बनाउने नेतृत्व छान्न आग्रह गरेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित अधिवेशन उद्घाटन गर्दै उनले मिसन ८४ लाई सफल पार्ने नेतृत्व छान्न निर्देशन दिए।

गुटबन्दी, अराजकता, अनुशासनहीनताले पार्टी नचल्ने चर्चा गर्दै अध्यक्ष ओलीले पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने बताए।

आफूले भनेको भएन भने अराजक काम गर्ने, विधि विधान र तरिका मिचेर पार्टी संगठन बलियो नहुने चर्चा गर्दै उनले नीति र विधि पालना गर्न निर्देशन दिए।

अध्यक्ष ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्ने बताए। उनले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन पनि सुझाव दिए।

उनले भने, “सहमति हुन नसके चुनावमा जाने साथीहरूले हार र जितलाई सहर्ष स्विकारेर जानुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, हार्नुभन्दा छोड्न राम्रो हो।”

उनले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको आरोप लगाए।

उनले भने, “म प्रधानमन्त्री हुँदा अर्थतन्त्र सुधारिएको थियो, उत्पादन वृद्धि भएको थियो। पूर्वाधारको विकास भएको थियो। एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक, ३९६ वटा पालिका स्तरमा अस्पताल निर्माण शिलान्यास भएको थियो। ती सबै योजना अलपत्र छन्।”

एमाले देश बनाउन लागिपरेको दावी पनि ओलीले गरे।

उनले भने, “चुनावदेखि चुनाव होइन, देशमा समृद्ध र विश्वले हेर्नलायक देश बनाउन एमाले लागिपरेको छ। हामीलाई यो देशमा सुशासन ल्याउनुछ, रोजगारीको अवसर सिर्जना गर्नु छ।”

एमाले कैलाली जिल्ला अधिवेशनमा सोमवार नयाँ नेतृत्व चयन गरिनेछ।

जिल्ला अध्यक्षका लागि ३ जनाको नाम चर्चामा रहेको छ। अध्यक्ष पदका लागि दुर्गादत्त जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले उम्मेदवारी दिने चर्चा रहेको एमाले कैलालीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर