![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240224_155022817.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
धनुषा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमला नदीमा निर्माण भएको देशकै लामो झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ ।
सिरहाको सिरहा नगरपालिका–१३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने एक हजार पाँच सय ४४ मिटर लामो कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गर्नुभएको हो । यसअघि महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने एक हजार चार सय ५२ मिटरको झोलुङ्गे पुललाई सबैभन्दा लामो भनेर चिनिन्थ्यो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
पुल उद्घाटन गर्दै प्रधानमन्त्रीले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभयो । तराईमा सिँचाइ विस्तार र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले यस पटक आफूले सङ्घीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताउनुभयो । नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्त्व रहेको उल्लेख गर्दै प्रचण्डले देशका विभिन्न ठाउँमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताउनुभयो ।
झन्डै २८ करोड ८५ लाख रुपैयाँको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ ।
यसैबीच स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने ट्याम्पो लगायतका गाडी तीव्र गतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डो¥याएर नदी पार गर्न प्रयोगकर्तामा अनुरोध गरेको छ ।