Aamsanchar

२५ हजार भारुभन्दा बढी पर्यटकले ल्याउन नपाउने कानून संशोधन गर्न शर्माको माग

Author Image
आइतवार, फागुन १३, २०८०

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले पर्यटकहरुले २५ हजार रुपैयाँभन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानून तत्काल संशोधन गर्न माग गरेका छन्।

आइतवारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले गत फागुन ३ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार भारु ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै २४ घण्टाभित्र २५ हजारभन्दा बढी भारतीय रुपैयाँ बोकेर आउन नपाइने व्यवस्था संशोधन गर्न माग गरे।

उनले नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए।

‘फागुन ३ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा टर्कीबाट एकजना अन्तरराष्ट्रिय स्तरको कार्डियोलोजिस्ट गंगालाल अस्पतालमा आउँदै हुनुहुन्थ्यो‚ उहाँलाई गिरफ्तार गरियो। ९६ हजार आईसी बोकेर आउनुभएको कारणले उहाँलाई गिरफ्तार गरियो‚’ उनले भने‚ ‘२५ हजारभन्दा बढी भारु पर्यटकहरुले चाहे सडकबाट वा एयरलाइन्सबाट आउँदा होस् बोक्न नपाउने व्यवस्था गरिरहँदा नेपालको पर्यटन क्षेत्र फस्टाउन बनाएको हो वा नेपालका होटल उद्योगहरु डुबाउनेका निम्ति बनाएको हो?’

उनले नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त कानून बनाइएको हो वा डुबाउन भन्नेबारे गम्भीर हुनुपर्ने बताए। उनले नेपालमा पैसा नभएकालाई मात्रै ल्याएर पर्यटन उद्योग चलाउने हो भन्दै प्रश्न गरे।

‘प्रधानमन्त्री, राज्य सत्तालाई यो कुरा थाहा छ कि छैन? थाहा पाएर पनि सुतेर किन बसेको? म सोध्न चाहन्छु प्रधानमन्त्रीलाई तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको होरु २५ हजारभन्दा बढी आईसी बोक्न नपाउने, हातमा एक रुपैयाँ पनि नभएका भिखारी मात्र ल्याएर टुरिस्ट इण्डस्ट्री चलाउने होरु होइन भने यो कानून वा नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ।’

सांसद शर्माले सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको आरोपसमेत लगाए। उनले संसदमा प्रतिपक्ष बोलिरहँदा सत्तापक्षका सांसदहरुले बोल्नसमेत नदिएको दावी गरे। उनले विपक्षीका आवाज दबाउने प्रपञ्च भइरहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर