काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गराएकी अभिनेत्री छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ को प्रमाणपत्र लिएकी छन् ।
छिरिङ र जगदिश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा ५ हजारा २ सय ७८ मिटरको उचाइमा कोरियाग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफरको डान्स अन ल्यान्ड ९पेयर०’ को रेकर्ड राखेका थिए ।

राष्ट्रपति पौडेलले शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गर्दै उनलाई बधाई दिएका थिए । सन् २०२४ को स्प्रिङ (अप्रिल–मे) मा सगरमाथा समेत आरोहण गर्न लागेकी छिरिङलाई आरोहणको शुभकामना पनि दिएका थिए ।

‘राष्ट्रपतिज्यूले एक महिलाले पाएको यो उपलब्धि देशकै लागि गर्वको कुरा रहेको बताउनुभयो’, छिरिङले भनिन्, ‘यो सम्मानले मेरो एउटा सपना पुरा भएको छ ।’

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा संघीय संसद् एवं अर्थ समिति सभापति सन्तोष चालिसे, बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपकप्रसाद रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष नारायणप्रसाद सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा ५ का सदस्य धर्मथिङ लामा, नेपाली काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविण घिमिरेलगायतको उपस्थिति थियो ।

छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट हिमाल आरोहण सम्बन्धी तालिम लिइसकेकी छन् । उनी ८ के एक्सिपिडिसनबाट ‘माई भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।
दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । फिल्म ‘तिन्छेन फामा’ ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड पनि पाएको थियो । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत हुन् । छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ ।
सोलुखुम्बुको दूधकुण्ड नगरपालिका –६ मा जन्मिएकी छिरिङ हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारमा बस्छिन् ।