Aamsanchar

 गोलधापमा २१ गते हुने बृहत जनवादी गीति कार्यक्रमको तयारी पुरा

Author Image
शनिवार, फागुन १९, २०८०

बिर्तामोड । सहिद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ गते गोलधापमा आयोजना गर्न लागेको बृहत् जनवादी गीति कार्यक्रमको तयारी पुरा भएको छ । 

प्रतिष्ठानले शनिबार कार्यक्रमस्थलमा पत्रकार भेटघाट गरेर तofरी पुरा भएको जनाएको छ । बरिष्ठ जनवादी गायक राजन राईको उपस्थितिमा सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

बामपन्थी पृष्ठभूमिका प्रजापति सापकोटालाई २०४३ सालको तिहारमा जनवादी देउसी भैलो खेल्ने क्रममा पञ्चायती व्यवस्थाका समर्थकले हत्या गरेका थिए । उनकै स्मृतिमा प्रतिष्ठान स्थापना गरेर जनवादी सांगीतिक आयोजना गरिएको हो ।

अध्यक्ष सापकोटाले प्रचार प्रसारलाई व्यापक बनाएको जानकारी दिए । उनले कार्यक्रममा १० हजार भन्दा बढी दर्शकश्रोता उपस्थित हुने अपेक्षा गरिएको बताए । गणतन्त्र विरोधी गतिविधि बढ्दै गएको समयमा यो व्यवस्था स्थापनाका लागि ज्यानको आहुति दिएका सापकोटाको योगदानलाई अझ व्यापक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । सोही समयमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको उनले बताए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, एकीकृत नेकपा समाजवादीका केन्द्रीय सदस्य पुष्प पोखरेल लगायतका बामपन्थी नेताहरूको सहभागिता रहने छ ।

जनवादी संस्कृतिलाई जनसाधारणले बिर्सिन लागेको अनुभूति भएकाले कार्यक्रम आयोजना गरिएको संस्थाका सहसचिव अनिल सापकोटाले बताए । उनले कार्यक्रम सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।  निशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा स्वेच्छिक रुपमा आर्थिक सहयोग गर्न सकिने छ ।
‘शिरैमा मेरो, शिरैको टोपी, कान थापेर सुनिदेऊ दाजु’ लगायतका कालजयी जनवादी गीतका सर्जक राई हुन् । स्थानीय कलाकारहरू अनिल सापकोटा, गोपाल योङहाङ, मेदनी शिवाकोटी, अम्बिका अधिकारीले पनि सांगीतिक प्रस्तुति राख्ने बताईएको छ ।
कार्यक्रमको पूर्वसन्ध्यामा गोलधाप बजार सरसफाइ पनि गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर