घोराही । १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० मा आइतबार नेपाली कलाकारिता क्षेत्रका चर्चित गायक प्रकाश सुपतको प्रस्तुति रहने भएको छ । महोत्सवको तेस्रो दिन आज आइतबार सांगीतिक प्रस्तुतिका लागि प्रकाश सपूत दाङ आएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक सपूतको प्रस्तुति रहने आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो ।
सपूतका गलबन्दी, सकम्बरी, कुरा बुझ्नुपर्छ, यो देश मेरो पनि होइन र, बदला बरिलै, पिर लगायत दर्जनौँ गीतहरू चर्चित रहेका छन् । महोत्सवमा आइतबार प्रकाश सपूत सहित हास्यकलाकार कमल गाउँले, गायिका सविना थापा, गायक रोशन रत्गैया, सरिता दान्कुटी, सुरक्षा मगर लगायतका कलाकारहरूको प्रस्तुति रहने छ ।
दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरूमा टेवा पु¥याउने, आर्थिक सङ्कटको बेलामा पनि आर्थिक चलायमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने, विभिन्न देशहरूको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरु लाई अवलोकन गराउने लगायतका उद्देश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा फागुन २१ गते भोलि सोमवार नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरूको प्रस्तुति रहने छ ।
महोत्सवको चौथो दिन फागुन २१ गते नेपाल सहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरूको प्रस्तुति रहने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । विदेशी कलाकारहरू आज घोराही आइपुग्ने छन् ।
महोत्सवमा प्रवेशका लागि एक सय रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको छ ।