Aamsanchar

संसदीय समितिको निर्देशन : १४ वर्षीया छात्रा शालिन मृत्युको गम्भीर छानबिन गर्नु

Author Image
आइतवार, फागुन २०, २०८०

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माविमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर रुपमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

समितिको आज (आइतवार)सिंहदरबारमा बसेको बैठकले उक्त घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो।

समितिका सभापति भानुभक्त जोशीले बालिका शालिन पोखरेलको मृत्युबारे सरकारले गृह मन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए।

यही फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन उक्त विद्यालयको छात्रावासमा मृत फेला परेकी थिइन्।

बैठकले शालिनको मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्सान के होरु सोबारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषीउपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ।

समितिले विद्यालय तथा छात्रावासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्रावासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे अद्यावधिक गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको छ।

विद्यालय शिक्षा विधेयकलाई कसरी चाँडो टुङ्ग्याउने भन्नेबारे पनि छलफल गरिने सभापति जोशीले जानकारी दिए। बैठकमा सांसदहरुले चितवनमा बालिका मृत्यु भएको घटना लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिन नभएको भन्दै सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।

उनीहरुले घटनाको चाँडो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता किसिमका घटना हुन नदिन दीर्घकालीन उपाय अपनाउन, विद्यालय र छात्रावासको सुरक्षा तथा गुणस्तरका लागि नीतिगत सुधार गर्न पनि आग्रह गरेका छन्।

बैठकमा आ–आफ्नो धारणा राख्नेमा सांसदहरु देवेन्द्र पौडेल, बद्रीप्रसाद पाण्डे, विद्या भट्टराई, तोसिमा कार्की, विनिताकुमारी सिंह, दिपा शर्मा, इश्वरी घर्ती, डा कलुराम राई, रामप्रकाश चौधरी र उर्मिला थेवे रहेका थिए।

‘शालिन पोखरेलको मृत्यु आपराधिक घटना’

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चितवनमा बालिका मृत्यु प्रकरणबारे सरकारले गृह मन्त्रालय मातहतका निकायले छानबिन गरिरहेको जानकारी पाएको भन्दै उक्त आपराधिक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।

“दुःखद घटना सरकारको जानकारीमा आइसकेको छ। यसबारे गम्भीर छानबिन भइरहेको छ। बालिका मृत्यु प्रकरण अपराधको घटना हो”, समितिको बैठकमा मन्त्री राईले भने, “घटनाको कडाइका साथ अध्ययन अनुसन्धान गरिनुपर्छ। हत्या वा आत्महत्या भए पनि दुरुत्साहनको अवस्थामा पुर्‍याउने परिस्थितिबारे अनुसन्धान जरुरी छ।”

उनले छात्रावास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्राबासको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए।

शिक्षामन्त्री राईले बालिका मृत्युको घटना अत्यन्तै पीडादायी भएको भन्दै आत्महत्या र बलात्कारपछि हत्याका घटना बढिरहेकाले न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए।

मन्त्री राईले त्रिवि सेवा आयोगको रिक्त सदस्य मनोनयनका निम्ति उपकुलपतिलाई सिफारिश गर्ने विश्वास व्यक्त गरे। उनले बालगृहको सुधार र अनुगमनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर प्रभावकारी काम अगाडि बढाइने बताए।

शिक्षा विधेयकमाथि छलफल

समितिको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल प्रारम्भ भएको छ। विधेयकमाथि संशोधन राख्ने सांसदको न्यून उपस्थितिले आज पूर्ण छलफल हुन सकेन।

संशोधनकर्ता अमरबहादुर थापाले शिक्षालाई गुणस्तरीय बनाएर मुलुकको विकाससँग जोडिनुपर्ने धारणा राखे। उनले विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय, समयसापेक्ष र रोजगारमैत्री बनाइनुपर्ने खाँचो औँल्याए।

​१६३ वटा दफा रहेको उक्त विधेयकमा १ हजार ७५८ वटा संशोधन परेको समितिले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर