Aamsanchar

रास्वपाले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार उठाउने, प्रदेशमा भाग नलिने

Author Image
सोमवार, फागुन २८, २०८०

झापा-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ।

सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उनले बताए।

उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए।

 

उनले सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईले उपनिर्वाचनमा घण्टीको बलमा चुनाव लड्ने र पार्टीले जित हासिल गर्ने दाबी गरे। रास्वपाले इलाम-२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ। एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर